इलाकाका प्रशासनमा कर्मचारी अभावले तिन महिनादेखि बन्द

670
views

काठमाडौँ । बैतडिको पुर्चौडी नगरपालिका हाटमा रहेको इलाका प्रशासन कार्यालयको सेवा तीन महिनादेखि बन्द रहेको छ ।

गएको भदौदेखि कर्मचारी अभाव हुँदा इलाका प्रशासनका सम्पूर्ण सेवा बन्द रहेको हो ।

गत भदौमा निमित्त कार्यालय प्रमुखको सरुवा भएदेखि सम्पूर्ण सेवा रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारि दिए । हाल हाटस्थित इलाका प्रशासन कार्यालयमा दुई जना मात्रै कर्मचारी रहेका छन् । एक नायबसुब्बा र एक कार्यालय सहयोगी मात्रै कार्यरत रहेका छन् ।

उक्त कार्यालयमा एक शाखा अधिकृत, दुई नायबसुब्बा, एक सहलेखापाल, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

जानकारीबिनै निमित्त प्रमुखको सरुवा गरेपछि सेवा दिन नसकिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । जोशिले भने, प्रमुख नहुँदा निमित्तको भरमा सञ्चालनमा रहेको इलाका प्रशासनमा निमित्तको पनि सरुवा गरिँदा समस्या भएको छ । कर्मचारी नहुँदा सेवा लिन नसकिएको स्थानीय अनिरुद्र जोशीले बताए ।

उनले भने , नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीवासीले सदरमुकाम धाउनुपरेको छ । दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ ।

इलाका प्रशासन कार्यालयमा गएको तीन महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

विसं २०७३ मा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकाले जिल्ला प्रशासनमा हाल नेपाली नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या बढ्दै गएको छ ।

इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

नेगीले भने, इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएको विषयमा गृह मन्त्रालयमा पत्राचार गरिसकेका छौँ तर अहिलेसम्म कर्मचारी पठाइएको छैन । साविकका एक दर्जन गाविसका झण्डै ६० हजार नागरिकका लागि २०७३ मा पुर्चौडीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो ।