अमेरिकीहरु व्यक्तिगत ईच्छा अनुसार खोप लगाउनेछन्ः जो बाइडेन

506
views

एजेन्सी, २०, मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिन बाध्यकारी नबनाइने तर व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने निर्णय गर्न सक्ने बताएका छन् ।

गृहराज्य डेलवरमा बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य नबनाइने भन्दै ‘राष्ट्रपतिका रुपमा मेरो शक्तिले भ्याएसम्म मैले खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्ने छु । तर कुन बेला कहाँ खोप लगाउने भन्ने व्यक्तिको निर्णयको कुरा हो ।’

अमेरिकामा हालसम्म एक करोड ४३ लाख ३७ हजार व्यक्ति संक्रमित हुँदा २ लाख ७८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

बढ्दो संक्रमणलाई हेरेरै सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले घरबाहिर हुँदा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको छ ।

यता, ९५ प्रतिशत प्रभावकारी देखिएका फाइजर र मोडेर्नाका खोपले सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी अमेरिकी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा निवेदन दिइसकेका छन् ।

बेलायतले त फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको र जनस्तरमा खोप लगाउने प्रक्रियाको थालनी गरिसकेको छ ।

अमेरिकाले डिसेम्बरको मध्यसम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको जनाइएको छ । एक अध्ययनका अनुसार ६० प्रतिशत अमेरिकी कोरोना भाइरसविरुद्धको खोप लगाउन तयार देखिएका छन् ।