एन्फाले बोलायो कार्यसमितिको बैठक

683
views

काठमाडौं, २०, मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमितिको बैठक बोलाएको छ । वार्षिक साधारण सभासहित यही मंसिर २५ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो । बैठकमा विभिन्न २३ भन्दा धेरै एजेण्डामा छलफल हुने एन्फाले जनाएको छ ।

बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना, युवा विकास परियोजना, विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न राष्ट्रिय टिमको प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा सहभागिता तथा आयोजनालगायत विषयमा छलफल हुनेछ ।

यस्तै, एन्फाको कार्यक्रम अनुसार स्थगित भएका प्रतियोगिता पुन सञ्चालन गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्तिको लागि एन्फा साधारण सभामा सिफारिस गर्नेलगायतका एजेण्डाबारे बैठकमा छलफल हुनेछ ।

अवकास प्राप्त कर्मचारीको उपदान रकम उपलब्ध गराउने, खेलाडी दर्ता नियमावली संशोधन प्रक्रिया अघि बढाउने, विधान संशोधनको प्रस्तावना मस्यौदा, एन्फाको कृत्रिम घाँसे खेल मैदानमा ट्रेसिङ्ग फ्लडलाइट जडान, फुटसल र बीच फुटबल प्रतियोगिता आयोजनालगायत विषयमा पनि छलफल हुनेछ भने नेपाली राष्ट्रिय टिमको विदेशी प्रशिक्षक, अनुशासन, कोभिड–१९ रिलिफ फण्डलगायतबारे पनि एन्फाले छलफल गर्दै छ ।