नारायणगढ-मुग्लिन पहिरोमा दुई प्रहरीको शव भेटियो,  पहिरोमा दुई बेपत्ता

577
views

चितवन, ९ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँगै त्रिशूलीमा खसेको प्रहरी भ्यानका दुई प्रहरीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इलाका प्रहरी कार्यालय मुग्लिनका प्रसनि २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दीपककुमार मास्केको शव भेटिएको हो ।
तामाङ धादिङ जिल्ला खनिया गाउँपालिका–४ का र मास्के बारा जिल्लाको हरैया–६ का हुनुहुन्छ । शवलाई सडकभन्दा तल नदीमाथि भिरमा पहिरोले किचिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । पहिरोमा इलाका प्रहरी कार्यालय मुग्लिनका जवान २१ वर्षीय सन्दीप कार्की र ३१ वर्षीय लीलाबहादुर चेपाङ पनि बेपत्ता हुनुभएको छ । कार्की तनहुँको रुपाकोट–३ का र चेपाङ गोरखा मकैसिङ–१ का हुनुहुन्छ । उहाँहरुसँगै प्रहरीको ना१झ १३९० नंको भ्यान र दुई थान एसएलआर हतियार बेपत्ता भएका छन् । सवारीसाधन र बेपत्ता भएकाको रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् । चारकिलोको पहिरो पन्छाउन नसकेपछि फर्किने क्रममा सो ठाउँमा पहिरो खसेर गाडी दुर्घटना भएको हो ।