संघीय जनगणतन्त्रका लागि जनसंघर्ष : कार्यगत एकतामा जोडिए २२ दल

730
views

काठमाडौं, ३, मंसिर । नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएको मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले औपचारिक रुपमा पार्टी निर्णय गर्दै संघीय जनगणतन्त्रको राजनीतिक नारा अगाडि सारेको छ । क्रान्तिकारी माओवादीले हालै सम्पन्न पोलिटब्युरोले गरेको निर्णय अनुसार नै २५ मंसिरमा संघीय जनगतन्त्र स्थापनाका लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विरोधसभा र जुलुसको प्रदर्शन ग¥यो । विरोध जुलुस र सभालाई काठमाडौं र सुर्खेतमा प्रहरीले हस्तक्षेप समेत ग¥यो । तर प्रतिरोधसहित निर्धारित विरोधका कार्यक्रमहरु सान्दार रुपमा सम्पन्न गरिए ।

पार्टी, देजमो र जबस मोर्चाको संयुक्त आयोजनामा सातवटै प्रदेश र कतिपय जिल्लाहरुमा संघीय जनगतन्त्रको स्थापनाको पक्षमा विरोध प्रदर्शन गरियो । काठमाडौंको रुत्नपार्क शान्तिबाटिका, उदयपुरको गाईघाट, सिरहाको गोलबजार, रौतहटको चपुर, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज, कैलालीको अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, सर्खेतको सुर्खेत बजार, दैलेखको भैरवी गापा लगायतका स्थानमा विरोध प्रदर्शन तथा सभा सम्पन्न गरियो । देशैभरिबाट क्रान्तिकारी माओवादीले एकसाथ वर्तमान, सत्ता, व्यवस्थाको अग्रगामी विकल्पको रुपमा संघीय जनगणतन्त्र अपरिहार्य रहेको सन्देश प्रवाह गरेको छ ।

काठमाडौं रत्नपार्क शान्तिबाटिकाबाट विरोध जुलुस निकाल्न खोज्दा प्रहरीले हस्तक्षेप गरी रोक्न खोजेको थियो । प्रहरीले केहीबेर रोक्न खोजेपछि त्यसको प्रतिरोध गर्दा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुसँग प्रहरीको झडप समेत भएको थियो । प्रदर्शनकारीहरुको भीडले प्रतिरोध गरेपछि प्रहरी पछि हट्न बाध्य भयो र शान्तिबाटिकाबाट निकालिएको विरोध जुलुस पुरानो बसपार्क, भद्रकाली, सुन्धरा, सहिदगेट, नेपाल वायुसेवा निगम, वीरअस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेललगायतका वक्ताहरुले सरकारको फासिवादी रवैयाको चर्को विरोध एवम् भत्र्सना गर्दै अब संघीय जनगणतन्त्रका लागि लड्नु बाहेक जनतासँग अर्को कुनै राजनीतिक विकल्प नरहेको चर्चा गर्नुभयो ।

त्यसैगरी सुर्खेतमा निकालिएको मसाल जुलुसमा पनि प्रहरीले हस्तक्षेप ग¥यो । ओली सरकारले गरेका जनघात र राष्ट्रघातको विरोधमा गरिएको मशाल जुलुसमा हस्तक्षेप गरी मशाल र केही झण्डा समेत प्रहरीले खोसेको थियो तर प्रहरी हस्तक्षेपको प्रतिरोध गर्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले मशाल जुलुस भव्य रुपमा सम्पन्न गरेका थिए ।

क्रान्तिकारी माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत सबै जल्लाबल्दा मुद्दाहरुलाई संघीय जनगतन्त्रको आन्दोलन वा संघर्षसँग जोडेर वृहत् आन्दोलन उठानका लागि पहल समेत गरिरहेको छ । क्रान्तिकारी माओवादीकै पहलमा बनेको २२ राजनीतिक दलको कार्यगत एकताबाट पनि संघीय जनगणतन्त्रको मुद्दालाई अनुमोदन गराउँदै आमूल परिवर्तनको आन्दोलनलाई यही मुद्दासँग जोडेर लैजानुपर्नेमा जोड दिंदै आएको छ ।

दलाल तथा नोकरशाही पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था, सत्ता र सरकार चौतर्फी रुपमा असफल र बद्नाम भएको अवस्थामा संघीय जनगणतन्त्रले मात्र राजनीतिक निकास दिनसक्ने विश्लेषण गर्न थालिएको छ ।

विगतमा भएको दशवर्ष लामो जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित, महिला, मुस्लिम लगायतका आन्दोलनहरुमार्फत् अभिव्यक्त जनादेश संघीय जनगणतन्त्र स्थापानाका लागि नै थियो । तर देशी विदेशी प्रतिक्रियावादीहरुको दबाब र प्रभावका कारण नेतृत्वले धोकाधडी र विश्वासघात गरी सम्झौतामा युद्ध र आन्दोलन टुंग्याएपछि संघीय जनगणतन्त्रको मुद्दा ओझेलमा परेको थियो । सम्झौतामार्फत् स्थापित लोकतान्त्रिक गणतन्त्रमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गको एकाधिकार स्थापित हुन पुगेपछि यो व्यवस्था देश र जनताको लागि हुन सकेन ।

कम्युनिस्ट आवरणमा रहेको केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को राष्ट्रघाती र जनघाती चरित्रहरु प्रदर्शन गर्दै गयो । अतिक्रमित भूमि फिर्ताका लागि पहल गर्न आलटाल गर्नु, राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पास गर्न मरिहत्ते गर्नु, भ्रष्टाचारमा मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा नै बद्नाम पारिनु लगायतका घटनाक्रमले जनतामा यो व्यवस्था र सरकारप्रति नै यतिविध्न आक्रोश र घृणा पैदा हुन पुगेको छ कि जनताले अब ओली सरकारको मात्रै होइन, मौजुदा संसदीय व्यवस्थाको नै विकल्प खोज्न थालेका छन् । यस पृष्ठभूमिमा क्रान्तिकारी माओवादीले अगाडि सारेको संघीय जनगणतन्त्र नै एकमात्र अहिलेको अग्रगामी विकल्प हो । अब यही एजेण्डालाई २२ राजनीतिक संगठनहरुले पनि आन्दोलन वा संघर्षको साझा एजेण्डा बनाउन सक्नु पर्दछ भन्ने आवाज पनि राजनीतिक वृतमा व्यापक रुपमा छलफल र बहस भइरहेको छ ।

यसैबीच, २२ राजनीतिक संगठनहरुको कार्यगत एकताको तर्फबाट सी.पी. गजुरेलले पौष ३ गते माइतीघरबाट निकालिएको जुलुससहित नयाँ बानेश्वरमा वृहत् विरोधसभाको कार्यक्रम घोषणा गर्नुभएको छ । आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथ नयाँ बानेश्वरमा २ बजे कोण सभाको आयोजना गर्ने कार्यक्रम अध्यक्ष गजुरेलले घोषणा गर्नुभएको छ ।
२२ राजनीतिक संगठनहरुको कार्यगत एकताले लामो समयदेखि राष्ट्रियता, जनजीविका लगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै आएको सन्दर्भमा कार्यक्रम घोषणा गरिएको हो ।

वक्तव्यमा भनिएको छ, “देश यतिखेर संगीन अवस्थाबाट गुज्रिरहेको छ । विगतमा हाम्रो कार्यगत एकताले उठाएका राष्ट्रियता, जनजीविका लगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै आएको कुरा सर्वविदितै छ । त्यसलाई निरन्तरता दिँदै पछिल्लो चरणमा थप देखा परेका प्रतिगमनको खतरा समेतको विरोधमा आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथ नयाँ बानेश्वरमा २ बजे कोण सभाको आयोजना गर्ने ठेगान भएको छ । उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण जनसमुदायसँग आह्वान गरिएको छ ।”

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. ने.क.पा. (माओवादी) र २२.समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।