सभामुखले बहिष्कार गर्दा संवैधानिक परिषदको बैठक स्थगित

397
views

काठमाडौं, ३०, मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गरेपछि संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठक पून स्थगित भएको छ ।

परिषद्का अध्यक्ष ओलीले आज बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले औपचारिकता पाउन सकेन ।

प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएको आरोप लगाउँदै सभामुख सापकोटा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुगेको मानिन्छ । अहिले उपसभामुख नरहेको अवस्थामा सभामुख पनि नजाँदा गणपुरक संख्या नपुगेको हो ।

संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल गर्न भन्दै प्रधानमनत्री ओलीले परिषद्को बैठक डाकेका थिए ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुने भएपछि स्थगित भएको थियो ।