फिफा ले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी अवार्ड पोल्यान्डका स्टार रोवर्ट लेवान्डोस्कीलइ

501
views

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ अवार्ड पोल्यान्डका स्टार रोवर्ट लेवान्डोस्कीले जितेका छन्।

लेवान्डोस्कीले अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका थिए।

जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले गत सिजन बायर्नलाई सबै खाले उपाधि दिलाएका थिए। ३२ वर्षीय लेवान्डोस्कीको उच्च प्रदर्शनमा बायर्नले च्याम्पियन्स लिग पनि चुमेको थियो।

यसैगरी महिलातर्फको उपाधि इङ्ल्यान्डकी लुसी ब्रोन्जले जितिन्। यस स्पर्धामा डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीनमा परेका थिए।

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका योर्गेन क्लोपले जिते। उनले लिड्स युनाइटेडका मार्सेलो बिएल्सा र बायर्नका हान्स फ्लिकलाई पछि पारेका थिए। महिला प्रशिक्षकको अवार्ड नेदरल्यान्ड्सकी सरिना वेगमेनले जितिन्। यस उपाधिको दौडमा चेल्सीकी एम्मा हेअस र लियोनका जेन भासेर थिए।

पुरुषतर्फ उत्कृष्ट गोलरक्षकको उपाधि जर्मन कप्तान म्यानुयल नोयरले हात पारे। उनले लिभरपुलका एलिसन बेकर र एट्लेटिको म्याड्रिडका जान ओब्लाकलाई पछि पारेका थिए। महिला गोलरक्षकको अवार्ड फ्रान्सकी सारा वौहाद्धीले जितिन्। यसस स्पर्धामा उनले क्रिस्टियन एन्डलर र अलिसा नेहरलाई पछि पारेकी थिइन्।

यसैगरी फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोट्टनहामका ह्युङ मिन सनले हात पारे।

फिफा ‘फेयर प्ले’ अवार्ड इटालीका माटिया अग्नेसे र फिफा फ्यान अवार्ड ब्राजिलका फ्रान्सिस्को मारिभाल्डोलाई प्रदान गरिएको छ।