मोरङको प्लाई उद्योगमा भीषण आगलागी

572
views

विराटनगर, १० असार । मोरङको बुढीगंगा–५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल प्रयोग गर्नुपरेको छ । शनिबार बिहान ४ः३० बजेदेखि सुरु भएको आगो निभाउन पूर्वका विभिन्न जिल्लाबाट आएका ११ वटा दमकलको प्रयोग गरिएको थियो । आगो निभाउन सुरक्षाकर्मी र स्थानीयवासी जुटेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाका अनुसार आगो नियनत्रणका लागि ‘मोरङ, झापा, सुनसरी र सप्तरीका ११ वटा दमकल घटनास्थलमा खटाइएको हो । थापाले आगलागीलाई पूर्ण रुपमा नियन्त्रणमा लिने निकै प्रयास गर्नुपरेको बताए । आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगमा चिरान काठ राखेको ठाउँबाट एक्कासी आगलागी सुरु भएको उद्योग सञ्चालक दिवाकर राठीले जानकारी दिनुभयो । यो उद्योग संयुक्त रुपमा उद्योगी जीवन रिजाल, बजरंग अग्रवाल, मनिष खेतान, रमेश आचार्य र पारस रिजालले सञ्चालन गर्दै आउनु भएको छ ।