कमिसनमा केन्द्रित जिल्ला ट्राफिक कार्यालय

789
views

महेन्द्र जिसी
पर्वत, १० असार । राजस्व संकलनमा सफल देखिएको जिल्ला ट्राफिक कार्यालय पर्वत सवारी साधनको व्यवस्थापनमा कम्जोर देखिएको छ । जिल्ला ट्राफिक कार्यालय पर्वत कमिसनमा बढी केन्द्रित देखिएको तर व्यवस्थापनमा कम्जोरी रहेको भेटिएको छ । सदरमुकामको ट्राफिक व्यवस्थापन कमजोर बनेको छ ।
जिल्लामा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटनाहरु बढ्न थालेका छन् । सवारी साधनको चाप बढेसँगै जथाभावी पार्किङ गरेर राख्ने, बजारमा अस्वाभाविक रुपमा मोटरसाइकल कुदाउने, सवारीचालक अनुमतिपत्र बिना सवारी चलाउने गतिविधि बढेका छन् ।
ट्राफिक नियम उलंघनमा सरकारी सवारी साधनरुको समेत लापरवाही बढेको पाइएको छ । सवारी दुर्घट्ना समेत बढेका छन् । बजारका मुख्य–मुख्य चोकहरुमा सिसी क्यामेरा जडान गरिएको भएपनि सवारी नियम उल्लंघनलाई प्रहरीले नियमन गर्न सकिरहेको छैन ।
भित्री बजारमा अनावश्यक ध्वनी निकाल्दै हुँइकाउने समस्या अति भएपछि बजारवासीको गुनासो बढेको छ । केहीदिन कुश्माबजारको लोकतन्त्रचोकमा ट्राफिक बसेपनि अहिले भित्री बजारमा ट्राफिक प्रहरी देखिन छाडेको छ । जसले गर्दा सवारी जथाभावी राख्ने, पार्किङ गर्ने, सवारी हुइकाउने, सवारी चालक अनुमति पत्र नै नभएकाले सवारी चलाउने जस्ता गतिविधी बढेका छन् ।
चारलाख रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले ७५ वटा साना र ठुला सवारी साधनलाई कार्वाहीको दायरामा ल्याएको बताएको छ । ट्राफिकले नक्कली लाईसेन्स देखाएर मोटर साईकल चलाउने सवारी चलाकको पत्ता लगाउन सकेको देखिदैन ।