भविश्य खोज्दै धौलागिरीका तन्नेरी स्रष्टाहरु

873
views

सम्राट पौडेल
पर्वत । साहित्य लेख्ने कतिपय साहित्यकारहरुको कपाल फुल्यो, उमेरले विश्राम माग्यो, तै पनि साहित्य पारखीहरु सामाजिक यथार्थमा कलम चलाउन पछि परेका छैनन् । धौलागिरीका तन्नेरी साहित्यकारहरुले साहित्यमा भविश्य खोजीरहेका बेला बुढ्यौली लागेका स्रष्टा मिसाउँदै शनिवार मासिक रचनावाचन डबली अन्र्तगतको पाँचौ श्रृङखलाको कार्यक्रम गरे ।
कार्यक्रममा साहित्यकारहरु आ–आफ्ना शैलीका रचनामा मग्नमुग्ध बन्दै शव्दमा ठेल मठेलका साथ रचना वाचनमा व्यस्त थिए । नवरसको भावमा बहेका रचनाहरुमा राष्ट्रवाद, श्रृङगारिक, सामाजिक, प्रेमिल, हाँस्य व्यङ्ग, विकृति विसंगतिको विरोध, नारी आवाज जस्ता काव्यहरुले स्थान ओगटेका थिए । रचना वाचनमा युवा साहित्यकारहरु लालहित थिए भने बुढ्यौली लागेका साहित्यकारहरु त्यसको प्रसंशा गरिरहेका थिए ।
साहित्य डबलीको उक्त कार्यक्रमका आकर्षक एवं पर्वत साहित्य संगमका संस्थापक संरक्षक ईन्द्र कुमार ‘विकल्प’ ले साहित्यले जीवन र जगतलाई यथार्थमा बदल्न मुख्य भुमिका निर्वाह गरेको बताउँदै नयाँ पुस्ताको उत्साहलाई हौसला प्रदान गरे ।
पर्वत, वाग्लुङ्ग र म्याग्दीका दर्जनौ साहित्यकारको उपस्थितिमा भएको उक्त कार्यक्रममा साहित्यकारहरु ईन्द्रमान खत्री, गोविन्द भुसाल, राजेन्द्र पहाडी, शंकर गिरी, डि.आर. शर्मा, याम केसी ढुङ्गाना, निर्मल पौडेल ‘एन पि घायल’, शंकर चोखाल, गितकार मान जि सुरागम, स्वास्थ्यकर्मी सम्राट पौडेलले परिवर्तित साहित्य रचना पस्किएका थिए । कार्यक्रममा साहित्यकार संगिता सुवेदी, मगर प्रेम, अभिष्ट केसी ‘शुभाविन्द’, सिर्जना कार्की, तनमती रोका, याम रोका मगर ‘चिन्तन’, ठाकुर रसाइली, कस्मिक सुवेदी लगायतका साहित्यकारहरुले प्रेमिल, व्यङ्गात्मक शैलीका रचनाहरु वाचन गरेका थिए ।
धौलागिरी कला तथा साहित्य मञ्चको आयोजनामा आयोजित कार्यक्रममा शुक्रराज ढुङ्गानाको ‘नयाँ नेपालका नयाँ पाईला’ कविता संग्रह दोस्रो कृतिको विमोचन गरिएको थियो । कार्यक्रममा नमुना आवासिय माविका अध्यक्ष यम प्रसाद शर्मा र ईन्द्रकुमार विकल्पले उक्त कविता संग्रहको विमोचन गरेका थिए । पर्वतको नमुना आवासिय माविमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता धौलागिरी कला तथा साहित्य मञ्चका उपाध्यक्ष शंकर चोखालले गरेका थिए । उक्त कार्यक्रमको स्वागत धौलागिरी कला तथा साहित्य मञ्चकी पूर्व कोषाध्यक्ष सिर्जना कार्की र सञ्चालन सञ्चारकर्मी दिपेश विश्वकर्माले गरेका थिए भने कार्यक्रमको संयोजन आयोजित संस्थाका संस्थापक सल्लाहकार एवं पत्रकार निर्मल पौडेल ‘एन पी’ घायलले गरेका थिए ।