यमनमा मन्त्रिपरिषद् सदस्यमाथि गरिएको आक्रमणमा २२ को मृत्यु

454
views

एजेन्सी, १६, पौष । यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै दुईवटा विस्फोट गराइएको हो । विस्फोटपछि गोली समेत चलेको थियो । धावनमार्गमा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको हो ।

अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ र श्रम मन्त्रालयका उप सचिव मारिएका छन् । दुई जना उपमन्त्री घाइते भएका छन् । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् ।

मृत्यु र घाइते हुनेमा सहायतामा जुटेका मानिसहरु रहेको बताइएको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको आरोप लगाएका छन् ।

सन् २०१९ को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो । सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो । यमनमा द्वन्द्वका कारण १ लाख १० भन्दा बढीले ज्यान गुमाएका छन । लाखौँलाई भोकमरीको चपेटामा पारेको छ ।