हस्तकला संघको अध्यक्षमा खड्का सर्वसम्मत चयन

651
views

पोखरा, १८, पुस । कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ । शनिबार एक कार्यक्रमकाबीच संघको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्कासहित ९ जनाको कार्यसमिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन हुनुभएको छ । त्यस्तै सदस्यमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन हुनुभएको छ भने संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन हुनुभएको छ ।

पछिल्लो समय हस्तकलाका सामानको माग बढी रहेको भन्दै यस क्षेत्रमा सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष दिपक श्रेष्ठले बताउनुभयो ।

‘हस्तकला एक सृजनात्मक क्षेत्र हो, यसलाई प्रवद्र्धन गर्दै बजारीकरणमा भने विशेष पहल गरिनुपर्छ, श्रेष्ठले भन्नुभयो, यसमा पोखरा उद्योग वाणिज्य संघले विभिन्न सहयोग गर्दै आएको र भावी समयमा पनि सहयोग गर्ने छ ।’

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीहरूलाई एकीकृत गरि स्थानीय श्रोत साधनको उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बताउनुभयो । संघ जन्माउनु मात्र ठुलो कुरा नभई यसको निरन्तरता मुख्य बिषय रहेको भन्दै महिलाको आवद्दता बढी रहेको संघलाई अवसर सँगै चुनौती पनि उत्तिकै रहेको उहाँले बताउनुभयो । संघको उद्देश्यलाई आधार बनाई अझ सशक्त ढंगले हस्तकला क्षेत्रमा लागि पर्न नवनिर्वाचित कार्यसमितिलाई भट्टराईले शुभकामना समेत दिनुभएको थियो ।

कोभिड–१९ को कारणले गर्दा असहज परिस्थिति सृजना भएको भन्दै आफ्नो ‘उद्यमी आवाज’ नामक स्मारिका तयारी अवस्थामा रहेको संघले जनाएको छ । संघको ‘उद्यमी आवाज’ स्मारिका केही समयपछि औपचारिक कार्यक्रमको आयोजना गरि विमोचन गर्ने समेत जनाइएको छ ।

संघको नवनिर्वाचित अध्यक्ष रामकली खड्काले संघको अवधारणामा सम्बन्धित रहेर कार्य गर्नु नै हस्तकलाको आधार रहेको बताउनुभयो । ‘विभिन्न देशमा हस्तकलाको ग्रासरूटबाट काम गर्ने गरेका छन्, यस क्षेत्रमा आवद्व उद्यमीलाई सरकारीदेखि गैह्रसरकारी संघ संस्थाहरूको साथ आवश्यक छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टराईले आफ्नो एक दशक कार्यकालमा कार्यसमितिमा रही संघ संचालनमा पु¥याएको योगदान स्वरूप सदस्यहरूलाई सम्मान गर्नुभएको थियो ।

संघमा आवद्व कार्यसमिति सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको सो कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष हिरा भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव सीता गुरूङले गर्नुभएको थियो ।