भारतीय दादागिरी: नेपाली भूमिमै पुल बनाउन रोक्यो

1066
views

राजविराज, २४, पुस । सप्तरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा पुल बनाउनमा रोक लगाएको छ । सप्तरीको खडग खोलाको पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत रहेको कठौना–पातो–कटैया सडक खण्ड अन्तर्गत डाकनेश्वरी नगरपालिका–६ कटैयामा रहेको अन्तिम बिन्दुमा पुल निर्माणमा एसएसबीले अबरोध गरेको स्थानीयले जनाएका छन् ।

नेपाल भारत सीमा छुट्याउने पिलर भन्दा १ सय ९५ मिटर उतर नेपालतर्फ सो पुल निर्माण गर्ने योजना रहेपनि एसएसबीले आफूहरुलाई माथिल्लो निकायबाट निर्देश नआएसम्म पुल निर्माण गर्न नदिने बताएको हुलाकी आयोजनाका इन्जिनयर आशुतोष कर्णले जानकारी दिएका छन् ।

०७६ साल माघ ८ गते उक्त पुल निर्माणका लागि काठमाडौंको इलाइट कम्पनीसँग सम्झौता भएको थियो । १८ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण हुने सो पुल निर्माण गर्न ३० महिनाको समयावधि तोकिएको थियो । पुलको डिजाइन गर्न गएकै बेला आफूहरुलाई एसएसबीले रोकेको इन्जिनियर कर्णले बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पनि पुल निर्माणमा एसएसबीले अवरोध गरेको पुष्टि गरे । प्रजिअ आचार्यले आफूले स्थलगत अवलोकन समेत गरेको बताए ।
सीमावर्ती बिहार जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटलाई आफूले लिखित रुपमै पत्राचार गरि अवरोध बारे बताएपनि उनले पनि माथिल्लो निकायको आदेश आए मात्र आफूले केही भन्ने बताएको प्रजिअ आचार्यले सुनाए ।