परराष्ट्रमन्त्रीको भारत भ्रमण, सीमाबारे कुरा नहुने

410
views

काठमाडौं, २९, पुष । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको १ माघबाट हुने तीन दिने भारत भ्रमणका क्रममा छलफल हुने मुद्दामा नेपालले सीमाको एजेन्डालाई राखेपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । भारतले यसपटकको भ्रमणमा कोभिड १९ विरुद्धको खोपबारे कुराकानी बढी केन्द्रित हुने बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार भारतले यसपटक सीमा विवादका विषयमा कुनै छलफल नगर्ने भएको हो । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत् छलफलको एजेन्डामा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति, कोभिड १९ विरुद्ध सहकार्य सहित सीमाको विषय पनि उल्लेख गरेको छ ।

भारतीय पक्षले अहिलेको सरकारलाई चुनावी सरकार मानेर सीमा जस्तो संवेदनशील विषयमा कुराकानी नगर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र फिर्ता ल्याउने बारे कुराकानी हुने बताएका थिए । उनले उक्त क्षेत्र फिर्ता ल्याएर देखाउने बताएका थिए । तर, भारतले ओली सरकारलाई चुनावी सरकार मानेर सीमाको विषयमा कुनै छलफल नगर्ने गरी तयारी गरेपछि यो नेपालले उठाउने विषयमा सिमित हुने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नयाँ नक्शा जारी गरी संसदबाट निशान छाप पारित गरिसकेको छ । यो कदमप्रति भारत असन्तुष्ट छ । नेपालले उक्त भू भाग फिर्ता गर्न भारतसँग आग्रह गर्दै आएको छ । यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल भ्रमणमा आउँदा पनि नेपालले सीमा समस्या समाधानको विषय उठाएको थियो ।

कोरोना भाइरसविरुद्धको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन अनुदान र कम शुल्क दुवैमा दिनेबारे गम्भीर छलफलमा भारतको तयारी बढी रहेको बुझिएको छ । भारतले छिमेकमध्ये नेपाललाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप प्रदान गर्ने तयारी गरेको छ । यसको संकेत भारतीय विदेशमन्त्री एस. जयशंकरले गरिसकेका छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले पनि खोप प्राप्त गर्न पहल गरिसकेको छ ।

नेपाल भारत संयुक्त आगोगको छैठौं बैठकमा भाग लिएर परराष्ट्रमन्त्री ज्ञवाली ३ माघमा स्वदेश फर्कने कार्यक्रम छ । दुई देशबीच सीमा विवादपछि संवादहीनताको वातावरण अन्त्य भएपछि द्वीपक्षीय भ्रमण र कुराकानी अगाडि बढेको हो ।

यसअघि भारतका गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले तीन महिनाको अन्तरालमा भ्रमण गरेका थिए । दुई देशबीच सचिवस्तरीय बैठकहरु पनि भइरहेका छन् । रिर्पोर्टस नेपालबाट