जी न्युजको सगरमाथा रिपोर्टबारे मालेको आपत्ति

राष्ट्रियताको संवेदनशील विषयमा सरकार मौन

1004
views

काठमाडौं, १ माघ, काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले हालै प्रसारण गरेको सगरमाथा सम्बन्धी रिपोर्टको नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी(लेलिनवादी (माले)ले आपत्ति जनाएको छ ।

बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माको अन्तरवार्ता लिएका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथा आधार शिविरमै पुगेर सगरमाथालाई ‘माउन्ट सिकदर’ नाम दिनु पर्ने र त्यसमाथि भारतले विश्वसामु दाबी गर्नु पर्ने भन्दै रिपोर्ट बजाएका थिए ।

नेपाल सरकारको नापी विभाग र चीन सरकारको स्वतन्त्र मापन पश्चात सगरमाथाको उचाइ ८८४८.८६ मिटर प्रमाणित भएको एक महिना नहुँदै भारतीय मिडियाबाट भएको अनर्गल प्रचारको मालेले कडा विरोध गरेको हो ।

मालेका महासचिव सीपी मैनालीले विज्ञप्ति जारी गर्दै राष्ट्रियताको यस्तो संवेदनशील विषयमा सरकार मौन रहेकोप्रति प्रश्नसमेत गरेका छन् ।

‘राष्ट्रियता सम्बन्धि यस्तो संवेदनशील बिषयमा नेपाल सरकारको मौनता रहस्यपूर्ण छ । हामी नेपाल सरकारले भारत सरकार समक्ष उपरोक्त बिषयबारे गम्भीर आपत्ति जनाउँदै त्यसले आफ्ना सञ्चार माध्यमलाई सही मार्गदर्शन गरोस भनी त्यसको ध्यानाकर्षण गर्न जोडदार माग गर्दछौं,’ नेकपा मालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।