नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति

637
views

काठमाडौँ, २, माघ । औषधि व्यवस्था विभागले नेपालमा ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ । शुक्रबारको विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो ।

बुधबार विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो । कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।

हाल नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।