‘गणतन्त्रमाथि हमला हुन थाल्यो’

536
views

काठमाडौं, ५, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर्न थालेको बताएका छन् । गणतन्त्रको सर्वाेच्च संस्था राष्ट्रपतिमाथि दिनदिनै हमला गरेर दाहाल र नेपाल पक्षले गणतन्त्रमाथि नै हमला गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आइतबार आफूनिकट अखिल नेपाल महिला संघको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै गणतन्त्रको सबै प्रणालीविरुद्ध व्यापक हमला हुन थालेको बताएका हुन् । ‘अहिले हाम्रो सबै प्रणालीविरुद्ध ब्यापक हमला भएको छ । दुई किसिमका हमला छन् । प्रचण्ड–माधव नेपाल गुटबाट राष्ट्रपतिमाथि हमला भएको छ । गणतन्त्र प्रणालीमा सर्वाेच्च संस्था राष्ट्रपति हो। राष्ट्रपतिमाथि अहिले हमला बढाइएको छ’, उनले भने, ‘राष्ट्रपतिले संविधानले व्यवस्था गरेअनुसार काम गर्ने र प्रधानमन्त्रीले सिफारिस गरेका काम गर्ने हो । त्यसमा कमजोरी भएको रहेछ भने राष्ट्रपतिको कमजोरी हुँदैन, प्रधानमनत्रीको कमजोरी हुन्छ । तर, राष्ट्रपतिमाथि प्रहार गरेर प्रणालीमाथि नै हमला गरिएको छ ।’

उनले आफूले प्रतिनिधिसभा विघटन संविधान, राष्ट्र र गणतन्त्रकै हितमा रहेर गरेको बताए। त्यसका लागि आफू जुन कुनै हिसाबले पनि जवाफ दिन र बहस गर्न तयार रहेको उनको भनाइ थियो। ‘म जवाफ दिन तयार छु, बहस गर्न तयार छु, प्रधानमन्त्रीले गरेको काम राष्ट्रको हित, संविधानको पक्षमा छ’, उनले भने ।

उनले राजतन्त्रका बेला दाम चढाउन जानेहरूले हमला गर्नुको अर्थ नहुने पनि बताए। ‘राजाका पालामा दाम चढाउन गएका यिनै होइनन् । पाउ दाममा राखेर वरिपरि घुमेर परिक्रमा गरेर दर्शन गरेको होइन, अनि गणतन्त्र हुँदा राष्ट्रपतिमाथिको हमला । यो गणतन्त्रमाथिकै हमला हो। न्यायमूर्तिमाथिको हमला पनि हो । अदालतमाथिको जनविश्वास कमजोर पार्ने षड्यन्त्र भइरहेको छ’, ओलीले भने ।

उनले दाहाल–नेपाल समूह सर्वोच्च अदालत र निर्वाचन आयोगको हुर्मत लिने काममा लागेको समेत आरोप लगाए । ‘अदालतप्रति सम्मान छ । तर, हामीले भनेजसरी फैसला आएन भने सडकबाट संसद् पुनःस्थापना गर्छौं । यो भनेको न्यायालयमाथि हमला होइन ?’ उनले प्रश्न गरे ।

न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर न्यायालय कमजोर पार्ने प्रयास भएको उनको भनाइ थियो। उनले त्यस्ता पात्रहरूको नाम लिँदा पनि आफूलाई कुल्ला गर्नुपर्लाजस्तो लाग्ने गरेको बताए ।

उनले ‘जनयुद्ध’ लडाकुले होइन दाहालले छाडेको बताए । सिक्लेसबाट सरकारी हेलिकप्टर चढेर काठमाडौं आएकै दिन दाहालले जनयुद्ध, जनयुद्ध लडेका लडाकु सबैलाई छाडेको आरोप उनले लगाए। ‘कार्यकर्ताले छाडेका होइनन्, जनयुद्ध, प्रचण्डले छाड्नुभएको हो । लडाकुले छाडेका होइनन्, प्रचण्डले छाड्नुभएको हो, जनयुद्ध । सिक्लेसबाट सरकारी हेलिकप्टरमा चढेर काठमाडौं आएको दिनदेखि कहिले लडाकु सम्झिनुभयो ? लडाकुका नाममा पैसा लिँदै गर्नुभयो, लडाकु कहाँ पुगे, जसको शरीरमा गोली छन्, छर्रा छन्, अंगभंग छन्, ती कहाँ छन्, ती कहिल्यै प्रचण्डले सम्झिनुभयो ? आफन्त सम्झिनुभयो, आफन्तका सात पुस्ता सम्झिनुभयो’, उनले भने, ‘कार्यकर्ताको दोष छैन ।

लडाकु कार्यकर्ता देशका लागि लडे, जनताको सुखका लागि लड्ने भनेर लडाइयो। अहिले लडाकुको अवस्था के छ ? तर, हामी बहिर्गमित लडाकु सबैलाई यथोचित सम्मानको व्यवस्था गर्नेछौँ ।’ अन्नपूर्ण पोष्टबाट