रुसका विपक्षी नेता नभाल्नीलाई पक्राउ गरेकोमा अमेरिकाका राष्ट्रपति बाइडेनको टोलीद्धारा निन्दा

608
views

काठमाण्डौ । रुसका विपक्षी नेता नभाल्नीलाई पक्राउ गरेकोमा अमेरिकाका नव(निर्वाचित राष्ट्रपति बाइडेनको टोलीले निन्दा गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवम् विपक्षी नेता एलेक्सी नभाल्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

जर्मनीमा उपचारपछि स्वदेश फर्केका ४४ वर्षका नभाल्नीलाई मस्को पुग्नासाथ प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । उहाँ पाँच महिनापछि स्वदेश पुग्नुभएको थियो ।

अमेरिकाको राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नभाल्नीलाई तत्काल रिहा गर्न माग गरेको छ । बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभान, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेललगायतले नभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भनेका छन् ।

गएको अगस्टमा मस्को जाँदै गर्दा नभाल्नी विमानभित्रै बेहोस हुनुभएको थियो । उहाँलाई थप उपचारका लागि जर्मनी लगिएको थियो ।

फ्रान्सेली र स्विडिस प्रयोगशालामा गरिएको परीक्षणमा नभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ विष खानामा मिसाएर खुवाइएको पाइएको जर्मनीले बताउँदै आएको छ ।

विमानस्थलमा नभाल्नीले आफूविरुद्ध लगाइएको जालसाजी मुद्दा झुटो रहेको दाबी गरे ।