कोरोनाविरुद्धको खोप लगाएपछि दुई जनाको मृत्यु, ५८० जनामा असर

921
views

एजेन्सी, ६, माघ । भारतमा कोरोना भाइरसविरुद्ध खोप लगाएका दुई जनाको मृत्यु भएको छ । खोप अभियान सुरु भएको दिन शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामीको मृत्यु भएको छ भने उत्तर प्रदेशको मुरादाबादमा पनि पहिलो दिन नै कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको छ । उनको खोप लगाएको भोलिपल्ट मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप लगाएकामध्ये अहिलेसम्म ५ सय ८० जनामा नकारात्मक असर देखिएको छ । तिमध्ये ७ जना अस्पताल भर्ना भएका छन् । कोरोनाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत सोमबारसम्म भारतमा ३ लाख ८१ हजार जनाले खोप लगाएका छन् । विश्वकै ठुलो मानिएको खोप अभियान अन्तर्गत भारतले आफ्नै देशमा उत्पादन गरिएका कोभ्याक्सिन र कोभिसिल्ड खोप दिएको हो ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्सँग मिलेर बनाएको कोभ्याक्सिन खोप भारतमा प्रयोग गरिएको हो ।

पहिलो चरणमा महामारी नियन्त्रणमा खटिएका स्वस्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई भारतले खोप लगाउन थालेको हो ।

भारतले आगामी जुलाईभित्रमा तीस करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ । भारतमा हालसम्म १ करोड ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । १ लाख ५२ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भइसकेको छ ।