प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै जंगिए बारका पूर्व अध्यक्ष

647
views

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेकाले उनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने भन्दै नेपाल वार एशोसिएसनका चारजना पूर्व अध्यक्षहरुले आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरू हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले बरिष्ठत्तम अधिवक्ता भण्डारीको घोर अपमान र मानमर्दन गरेकाले यो समस्त कानून व्यवसायमाथिकै सत्तापक्षद्वारा गरिएको निर्लज्ज प्रहार हो भन्ने आफूहरूको निश्कर्ष रहेको बताएका छन् ।

उनीहरूको विज्ञप्तिमा भनिएको छ–प्रधानमन्त्रीद्वारा अभिव्यक्त ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्नं, के तमासा गरेको हो यो भन्ने अभिव्यक्ति र वकिलले कुरा फिटयाफिट्यै छन तर ढुक्क हुनुहोस् प्रतिनिधि सभा पुनस्थापना हुँदैन’ भन्ने अभिव्यक्ति तथा यसअघि पनि कानून व्यवसायीलाई स्यालजस्तो म्याउम्याउ गरेका छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने, के गर्छन ती वकिलले भनि सार्वजनिक समारोहमा गरिएका प्रमका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानून व्यवसायमाथि नै धावा बोलिएकोले लोकतन्त्रका पहरेदार कानून व्यवसायी माथिको यो प्रहारलाई मुकदर्शक भएर सहन गर्न सकिँदैन ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अदालतमा विचारधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई आफूहरूले गम्भीरतापूर्वक लिएका उनीहरूले बताएका छन् ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति खेद र भत्सर्ना गर्दै उनीहरूले उक्त अभिव्यक्तिका विरूद्ध उभिन नेपाल बार एसोसिएसन र देशभरका कानून व्यवसायीहरूलाई अनुरोध गरेका छन् ।