कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

334
views

काठमाडौं, १३, माघ । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने प्रभावबारे जनचेतना प्रवाह नगर्दा अधिकांश नागरिकले खोपबारे शंका व्यक्त गर्न थालेका छन् ।

केही सर्वसाधारणले खोप लगाएपछि झन् खतरा हुने आशंका गर्दै खोप नलगाउने प्रतिक्रिया दिन थालेका छन् । सरकारले खोपका लागि व्यवस्थापकीय तयारी गरे पनि खोपबारे जनचेतना जागरण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले खोप लगाउनुपूर्व सरकारले पर्याप्त मात्रामा जनचेतना प्रवाह गरेको भए अझ प्रभावकारी हुने बताए । उनले भने, ‘खोप लगाउनुपर्छ । यो खोपले विभिन्न फेज पार गर्दै आएको छ । हरेक भ्याक्सिनमा सानातिना समस्या देखिन सक्छ । यस विषयमा सरकारले ढुक्क पार्ने खालका पर्याप्त मात्रामा जानकारी गराउनुपर्छ ।’

खोप लगाइसकेपश्चात् जिउ दुख्ने, थकाइ लाग्ने र टाउको दुख्ने समस्या देखिन सक्ने अध्ययनले देखाएका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले मन्त्रीहरू, सचिवहरू, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिलाई खोप दिने कार्यक्रम राखेको भए स्वास्थ्यकर्मी तथा अन्य सेवाग्राहीलाई खोप लगाउन ढुक्क हुने स्थित सिर्जना हुने बताए । उनले भने, ‘नेपालमा आएको कोभिसिल्ड खोप तुलनात्मक रूपमा सुरक्षित मानिएको छ । खोप लगाउँदा सामान्य साइड इफेक्टका रूपमा ज्वरो आउने, टाउको दुख्ने र खोप लगाएको ठाउँमा दुख्नेलगायतका समस्या पाँच–सात दिनसम्म रहन सक्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप लगाएपश्चात् कसैमा साइड इफेक्ट देखिए सरकारले उपचार गर्ने बताए । उनले भने, ‘जोखिमका आधारमा खोप लगाइनेछ । पहिलो चरणमा ४ लाख ३० हजार जना फ्रन्ट लाइनरलाई खोप लगाउने योजना छ ।’ भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको खोप भोलि(बुधबार)देखि लगाउन प्रत्येक प्रदेशमा संयोजक खटाइएको छ ।

नेपाललाई प्राप्त भएको खोप अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्त रूपमा विकास गरेको र भारतमा रहेको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । सो खोपको तेस्रो चरणको ट्रायल पनि भइसकेको छ ।

यस्तै देशभर सोमबार ३३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४० जना रहेको छ ।

सोमबार देशभर ४ हजार ८५८ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण गर्नेको संख्या २० लाख ४८ हजार ११३ पुगेको छ ।

सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १३२ जना क्वारेन्टिनमा रहेका छन् राजधानी दैनिकमा प्रशान्त वलीले लेखका छन् ।

पछिल्लो २४ घण्टामा ४०१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ । यस्तै देशभर हाल १५६ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा छन् । १३७ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत छन् ।