म्यानमारकी नेतृ सुकी सेनाको हिरासतमा

404
views

काठमाण्डौ । म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ परेकि छन् ।

उनलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ ।

सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले नोभेम्बर महिनामा भएको चुनावमा फराकिलो मतले जित निकालेको थियो । तर सेनाले भने यो चुनावमा धाँधली गरेको दाबी गर्दै आएको थियो । सेनाले म्यानमारमा आजको संसद बैठक स्थगित गर्न आह्वान गरेको छ ।

नेशनल लिग फर डेमोक्रेटिक पार्टीका प्रवक्ताले प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति विन मिंट र अर्का एक नेतालाई हिरासतमा लिएको बताएका रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले म्यानमारको राजधानी नेपिटाब र अन्य मुख्य सहरका सडकमा सेनाको बाक्लो उपस्थित रहेको छ ।

राजधानीमा टेलिफोन र इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको छ । सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताउनु भएको छ । सुकीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाएकि थिइन् ।