कथा : ‘फक्रे पछिको अर्को फूल’ (भिडियो सहित)

75
views

पर्वत । प्रत्येक बिहानीको मिरमिरे उज्यालो किरणसंगै उदाउने नयाँ सिर्जनाले जिन्दगीलाई सार्थक तुल्याउदै रमाई रहनुभएको छ देशकै पहिलो र एकमात्रै वनस्पति चित्रकार मिलन शेरचन । समय मिलाएर मौसम अनुसारको झारपात संकलन गर्नु, सुकाउनु, उठाउनु, रंगाउनु अनि त्यहि झारपातलाई आकर्षक तरिकाले क्यानभासमा जीवन्त दिनु उहाँको दिनचर्या हो ।

पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित उहाँको निवासमा प्रबेश गर्नसाथ आँगनमा टन्न झारपात सुकाईएका र कार्टनु र बोराहरुमा ब्यवस्थित गरिएको देख्न सकिन्छ । लामो समय टिक्ने, सुकेपछिपनि कपडा जस्तै झट्ट नच्यातिने चिउरे घाँस, बावियो, सिरु, बाह्रमासे फूलका पातहरु लगाएत उहाँको कलामा बढी प्रयोग हुने बनस्पति तथा झारहरु हुन् । यता बरण्डा, बाथरुम, ट्वाईलेट लगाएतमा भने हातले चिटिक्क पारेर बनाइएका फुलका गमला टोकरी र भित्ताभरी चित्रहरु टाँसिएको देख्दा लाग्छ कुनै चित्र संग्रालयमा प्रवेश गरेका छौं।

बुबा झपट बहादुर भट्टचन र आमा यम कुमारी भट्टचनको कोखबाट २०२१ साल फाल्गुन २१ गते पोखरा स्थित गणेशटोल नालामुखमा उहाँको कान्छी छोरीका रुपमा जन्म भएको थियो । उहाँको हजुरबुबा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहरियाटोलस्थित दरबारमा सीतारावादक र तवलाबादक थिए । बुबा पनि हस्तकलामा पोख्त हुनुहुन्थ्यो ।

कला र संगितमा पारिवारिक पृष्ठभुमि भएरपनि होला उहाँमा पनि सानैदेखि शिर्जनसिलतामा लगाव बढदै गयो । उहाँ चित्रकलामा मात्र नभै साहित्य र संगितमा पनि उत्तिकै रुचि राख्नुहुन्छ ।

विसं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उहाँलाई पुरस्कृत गर्यो । त्यसपछि २०४१ सालमा पनि उनले पुरस्कार पाउनुभयो । उहाँको ऊर्जा झनै बढ्यो । त्यसपछि पोखराका स्थापित कलाकारसँग उहाँको संगत बढ्दै गयो ।

कलाकार बुद्धि गुरुङले उहाँलाई चित्रकलाको बारेमा सिकाए । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौस्यायो । यही हौसला कै कारण उहाँले पहिलोपटक २०५८ सालमा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गर्नु भयो । सोचेभन्दा धेरै दर्शक आए । कलाको निकै प्रशंसा भयो । सोहि समयदेखि उहाँ ब्यवसायिक रुपमै क्यानभासमा चित्रहरुलाई जीवन्त दिन थाल्नुभयो । यही प्रेरणाले उहाँले पोखरा र काठमाण्डुमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभयो । सामूहिक चित्रकलामा भने उहाँ दर्जनौँपटक सहभागिता जनाई सक्नु भएको छ ।

ठुलो दाई डा.कृष्ण बहादुर भट्टचन अमेरिका अध्ययनको सिलसिलामा रहदा उहाँले पनि अमेरिका जाने मौका पाउनुभयो र २०४७ सालमा अमेरिका प्रस्थान गर्नुभयो । अमेरिका बसाईको १८ महिनापछि उहाँ जापान जानुभएको थियो ।

जापानको ५ बर्षे बसाईको अवधिले नै उहाँलाई ब्यवसायिक चित्राकार बनाएको हो । जापान बसाईका क्रममा साईतो भन्ने साथीसंग एउटा कलाप्रदर्शनीमा पुग्नुभयो । सोही कलाबाट प्रभावित बनि अठोट गर्नुभयो यो कला सिकेर आफ्नै देशका नागरिकलाई पनि सक्षम चित्रकार बनाउछु भन्न । १ घण्टाको १० हजार शुल्क तिरेर नोहारा उमि नामक जापनिज गुरुआमाबाट २ दिनमा चारपटक हानानो ओसिबाना तालिम लिनुभएको थियो । हानानो ओसिबाना जापनिज शब्द हो, यसलाई नेपालीमा सुकाइएका बनस्पति अर्थात झारहरुलाई क्यानभासमा कलात्मक चित्र बनाउनु हो ।

प्रयोगात्मक सिपमा विश्वास गर्ने देश जापानमा सिकेको उक्त हानानो ओसिबाना सिपले नै उहाँलाई अहिले कला क्षेत्रमा फरक पहिचान बनाउन सफल बनाएको छ ।

जापान बसाई कै क्रममा २०५१ सालमा मुस्ताङ्ग लेते पुखौली थलो भएका सत्यनारायण शेरचनसंग उहाँको विवाह भएको थियो । २०५१ सालमा नेपाल फर्किएर उहाँ अहिले एक छोरा र एक छोरी गरि ४ जना सुखि परिवारसंगै आफ्नो कलालाई निरन्तरता दिइरहनु भएको छ । भन्नुहुन्छ, उहाँले आफ्नो नशा नशामा सिर्जनसिलताको रगत बगिरहेको छ ।

चित्रकार मिलनको हसिलो र मिलनसार स्वभाव उहाँको नामसंग ठ्याक्कै मेल खान जान्छ । साथीभाई ईष्टमित्रहरुसंग छिट्टै घुलमिल भएर सदावहार मित्रवत सम्बन्ध कायम गर्ने सक्ने उहाँको अर्काे कला हो । देशका विभिन्न तह र तप्काका ब्यक्तिहरुलाई देश, समाज, परिवार र व्यक्तिलाई सकरात्मक मार्गतर्फ दोहोराउने र खबरदारी गर्ने दायित्व हुन्छ ।

त्यसै क्रममा कलाकार शेरचनले नेपालको नक्सा सम्बन्धि पछिल्लो राष्टिय मुद्दालाई साथ दिंदै लिपुलेक र कालापानीलाई समेटेर पिपलको पातबाट नेपालको नक्सा बनाएर कलाकारिता मार्फत आवाज उठाउनु भएको छ । यस बर्ष लकडाउनको समयमा उहाँले बनाउनु भएको लिपुलेकको बनस्पति चित्रले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विनेपाल विद्वत्वृत्ति समेत पाईसक्नु भएका शेरचन दर्जन बढी संघ संस्थाबाट सम्मानित र पुरस्कृत सक्नु भएको छ । ‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उहाँ समावेश हुनुभएको छ । जुन पुस्तकमा नेपालमा पहिलोपटक स्थापित फरक क्षेत्रका महान ब्यक्तित्वहरु पर्नुहुन्छ । उहाँ पहिलो बनस्पति चित्रकारका रुपमा समावेश हुनुभएको हो ।

त्यससंगै आफुले सिकेको सिपलाई हस्तान्तरण गर्नुपर्छ भन्ने हेतुले निशुल्क चित्रकला तालिम सिकाउने गरेपनि सिकिसकेपछि पलायन हुने गरेको भन्दै गुनासो पोख्नुभयो । अभाव, गरिबी र धनिले मात्रै यो पेशालाई अंगाल्ने भन्दापनि धैर्य र मेहनतमा विश्वास गर्ने मान्छे स्थापित हुने ठोकुवा गर्नुहुन्छ । मेहनतमा आत्माविश्वास र सिर्जनसिलतामा आर्थिक सशक्तता छ भन्ने एक उदाहरणीय पात्र हुनुहुन्छ उहाँ । उहाँले आफनो कलालाई २ सय देखि १० हजारसम्ममा विक्रि गर्नेगर्नु हुन्छ । कलाको मर्म बुझेर चिनेजानेको साथीभाईहरु घरमै आएर किनेर लैजान्छन भने विदेशबाट समेत अर्डर गर्ने बताउनुहुन्छ ।

नयाँ सिर्जनासंग उदाउने उनको प्रत्यक विहानी चित्र बनाउनुसंगै अजकल कृत्रिम शालिग्राम तयार गरेकी छिन । हिन्दु धर्मानुसार शालिग्रामको निकै महत्व भएपनि नयाँ पुस्ता यसबारे अनविज्ञ हुनुहुन्छ, त्यसैले कलाको माध्यमबाट यसको महत्व बुझाउन सकिन्छ कि भनेर प्रयास गरेको बताउनु हुन्छ ।

सहज विकास र परिवर्तन गर्नका निम्ती स्थापित तिनै तहको सरकारबाट भने उहाँ खिन्न हुनुहन्छ । केन्द्रिय, प्रादेशीक र स्थानिय तहले कला, साहित्य र सिर्जनालाई बेवास्ता गरेको भन्दै प्रत्यक कलाकारिता घर भित्रमात्रै सिमित रहेको गुनासो गर्नुहुन्छ । देशले महिला राष्ट्रपति पायो, नगरपालिकाले महिला मेयर पायो र वडाले महिला वडाध्यक्ष पायो तर महिलाहरुको कला सिर्जनाले कहिले महसुस गर्न नपाएको बताउनुहुन्छ । हुनत सिर्जनसिलतामा लिंग हुदैन तर सरकारले यस्ता खालका सिर्जनाहरुको पहिचान गरि उचित वातावरण मिलाउन सक्यो भने देश परिवर्तन र विकासमा फड्को मार्ने निश्चित छ ।