दोस्रो राष्ट्रिय मगर महोत्सव हुँदै

1069
views

पर्वत, २१, माघ । पर्वतमा क्रियाशिल पुन युवा क्लवको आयोजनामा कुश्मा बजारमा ऐतिहासिक दोस्रो राष्ट्रिय मगर महोत्सव–२०७७ आयोजना हुने भएको छ । यहि फागुन १५ देखि २५ गतेसम्म हुने महोत्सवमा कला संस्कृतको प्रबर्द्धनमा एक्यवद्धता, खेल, व्यापार तथा पर्यटन प्रबर्द्धनमा प्रतिबद्धता भन्ने मुल नारा लिइएको क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए ।

क्लबले कुश्मा बजारमा एक नमुना मगर संग्रहालयको स्थापनाका लागि रकम संकलन गर्ने, पर्वत जिल्लाको पर्यटन, उद्योग, व्यापार तथा व्यावसायको प्रबर्द्धन, खेलकुद तथा संस्कृतिको विकास, कृषि तथा शैक्षिक उन्नयनका मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको पुनले बताए ।

महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पुख्र्यौली नृत्य प्रतियोगिता, रत्यौली तथा भजन प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्घान रमाइलो मेला, शैक्षिक प्रदर्शनी लगायतका कार्यक्रम हुनेछन् ।

महोत्सवको खर्च ५० लाख ९० हजार र आम्दानी ७० लाख अनुमान गरिएको अध्यक्ष पुनले बताए । महोत्सवमा २२० वटा व्यापारीक स्टल र ८ वटा होटल रहनेछन् । टिकट शुल्क ८० छ भने महोत्सव प्रवेश गर्दा मास्क सेनेटाइजरको व्यवस्था गरिएको छ ।