कुश्मा–दाना प्रसारणलाइनको प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट उद्घाटन

1085
views

काठमाडौं, २२, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड भर्चुअलमार्फत उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका–२ खुर्कोटस्थित २२० र १३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० र १३२ र ३३ केभी सबस्टेसनको समेत उद्घाटन गरेका ह्ुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाल उपस्थित भएका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताउँदै विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत् बिक्री गरी आय आर्जन गर्न सक्षम हुने उनले बताए ।

मन्त्री रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई संचालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिए ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।