भागरथीको परिवारले शव बुझ्न मानेनन्

396
views

बैतडी, २५, माघ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट बुधबार विद्यालय गएकी गईन् । उनी (भागरथी) साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा उनको शव फेला परेपछि गाउँपालिका नै शोकमा डुबेको छ ।

गाउँकी छोरीको अकल्पनीय घटनाले गाउँ नै शोकमग्न भएको स्थानीय चडेपानीका केशब भट्टले बताए । उनले भने, “विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मुस्कील भएको छ ।”

मृतक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गुमाउँदा मृतककी आमा द्रोपती भट्ट निकै पीडामा रहेकी छन् ।

भागरथी विभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तको छ । कपडा च्यातिएको, शरिरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि आफन्तले बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए । मृतक किशोरीको शव भने नबुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । उनले भने, “अपराधी पत्ता लागेको छैन, आज शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ ।’

किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ । घटना शङ्कास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारी साधन सञ्चालन भएका थिए । ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धानको काम थालिरहेको छ ।

टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।

यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ ।