ओलीले निरङ्कुश ढङ्गले आफ्नो शासन अवधि लम्ब्याउन खोजेः प्रचण्ड

459
views

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश ढङ्गले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको र त्यो पूरा नहुने बताए ।

नेपालबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आएका पत्रकारहरूसँग मङ्गलबार काठमाण्डौमा भएको भेटमा अध्यक्ष दाहालले देशमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तर्राष्ट्रिय समुदायसँग समर्थनका लागि अपिल पनि गरिएको बताए ।

उनले भने, ‘यसबीचमा हाम्रो अलग–अलग सबैसँग कुरा भइरहेको छ । भारतसँग, चीनसँग, अमेरिकासँग, युरोपियनसँग पनि कुरा भइरहेको छ र हामीले सार्वजनिक अपिल पनि गरेका छौँ अन्तर्राष्ट्रिय समुदायलाई ।

नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ, लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाली नागरिकलाई चाहियो भनेर औपचारिक अपिल गरेका छौँ । अलग–अलग भेटेर कुरा पनि गरेका छौँ ।’

उनलेआवश्यकताअनुसार सामूहिक भेटघाटको पनि आयोजना गर्न सकिने सङ्केत गरे ।

कार्यक्रममा नेता दाहालले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनीतिक भुमरीमा फस्ने बताउनुभएको छ ।

उहाँले बाहिर सुन्नमा आएजस्तै सेटिङअनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने देश ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिनुभएको हो ।

यद्यपि आफूहरू संविधानको अक्षर र भावनाअनुसार नै न्यायालयबाट निर्णय आउनेमा विश्वस्त रहेको उहाँले स्पष्ट पारे ।