मध्य असारमा घुम्ती शिविर सञ्चालन

804
views

महेन्द्र जिसी,
पर्वत, १३, असार । आर्थिक वर्षको अन्त्यतिर जिल्लाका सरकारी कार्यालयहरुले संयुक्त घुम्ती शिविर तथा सार्वजनिक सुनुवाईको आयोजना गर्न थालेका छन् । मध्य असारमा सेवाग्राहीहरु खेतीपातीमा व्यस्त हुने समयमा चालु आ.व.को अन्तिममा हुवासमा घुम्ती शिविर हुन लागेको हो ।
सेवाग्रहीहरु खेती किसानीमा व्यस्त रहने हुँदा प्रशासनिक कार्यको महत्व नहुने समयमा घुम्ती शिविरको महत्व कम देखिएको छ । तरपनि जिल्ला प्रशासन कार्यालयले जिल्लाका प्रमुख सरकारी कार्यालय सहित दक्षिणी पर्वत स्थित पैँयू गाउँपालिकाको हुवासमा घुम्ती शिविरको आयोजना गर्न लागेको हो । चालु आ.व.को अन्त्य सकिनै लाग्दा घुम्ती शिविर राखेपछि सेवाग्राही पनि कम आउने र कार्यालयहरुले बजेट मात्र सक्न खोजेको देखिएको छ ।
हुवासका साविकका १६ गाविसलाई मध्यनजर गरि गत आर्थिक वर्षको सुरुवातदेखि ईलाका प्रशासन सुरुवात गरिएको भएपनि कर्मचारीको अभावमा विगत दुई महिनादेखी ईलाका प्रशासनको सेवा रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले भने असारको पहिलो सातादेखि नै त्यहाँ पुन कर्मचारीको व्यवस्थापन गर्ने जनाएपनि अहिलेसम्म कर्मचारी व्यवस्थापन हुन सकेको छैन् । आगामी असार १४ गते प्रशासन आफैले अन्य सरकारी कार्यालयलाई लिएर वृहत घुम्ती शिविरको आयोजना गरेको हो । अहिले घुम्ती शिविर सञ्चालन हुने क्षेत्रमा चैते धान थन्क्याउन र असारे धान रोप्नमा सेवाग्रहीहरु व्यस्त बनेका छन् । ठिक यति नै वेला शिविरको महत्व खासै रहँदैन । कृषक यतिबेला कोदोरोपाईं र हिउँदे धान रोप्नमा व्यस्त रहेका छन् । वर्षा शुरु भएलगत्तै कृषकरुलाई खेतीबालीको कामले भ्याईनभ्याई भएका बेला प्रशासनले ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिक र सेवाग्राहीको लागि सरकारी सेवामा थप पहूँच विस्तार गर्न शिविरको आयोजना गरेको सहायक प्रजिअ प्रविण ढकालले जानकारी दिनुभयो । शिविरमा नागरिकता प्रमाणपत्र वितरण तथा अन्य सिफारीस, सार्वजनिक सुनुवाई, प्रहरी मेरो साथी अभियानबारे जानकारी गराईने प्रशासनले जनाएको छ । धान दिवस, रोपाई महोत्सव तथा बिऊबिजन वितरण, पशु स्वास्थ्य शिविर, स्वास्थ्य शिविर संचालन हुने भएको छ । त्यसैगरी वन संरक्षण सम्वन्धि कानूनी सचेतना लगायत स्थलगत अभ्यास, जेष्ठ नागरिक परिचय पत्र तथा अपाङ्गता भएकालाई परिचयपत्र वितरण, उद्योग तथा वाणिज्य दर्ता तथा नविकरण सम्वन्धी कार्यक्रम र आयुर्वेदीक पद्धतिबाट उपचार तथा स्वास्थ्य परिक्षण लगायका कार्यक्रम हुने भएका छन् । शिविरमा विहादी, पैयुँ र महाशिला गाउँपालिकाका १९ वटै वडाका बासिन्दाले सेवा लिन सक्ने सहायक प्रजिअ ढकालको भनाई छ । यातायातको राम्रो सुविधा नहुँदा उक्त क्षेत्रका बासिन्दा सदरमुकाम कुश्माबजार आउनका लागि स्याङजा र कास्की हुँदै धेरै समय र धेरै रकम खर्चेर सेवा लिन आउनुपर्ने अवस्था रहेको छ । शिविरलाई लक्षित गर्दै जिल्ला कृषि विकास कार्यालय पर्वतले पनि यस वर्षको रोपाई महोत्सव हुवासमा नै गर्ने तयारी समेत गरेको छ । यता निर्वाचनका कारण पहिले नै गर्नुपर्ने शिविरमा ढिलाई भएको अन्य कार्यालयहरुले बताएका छन ।