अतिसंवेदनशील छन् पूर्वका ७ सय ९२ मतदानस्थल

396
views

विराटनगर, १३, असार । बुधबार हुने दोस्रो चरणको निर्वाचनक्रममा पूर्वाञ्चलका विभिन्न जिल्लाका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले ‘अतिसंवेदनशील’ रहेको सुरक्षा निकायले जनाएको छ। पूर्वका १६ वटै जिल्लामा गरी ७ सय ९२ मतदानस्थललाई क्षेत्रीय सुरक्षा समितिले अतिसंवेदनशीलको सूचीमा राखेको छ।
तराईका भूमिगत समूहदेखि विप्लव माओवादीलाई चुनावी सुरक्षाका दृष्टिले चुनौतीपूर्ण मानिएको छ
त्यसमा प्रदेश–२ मा पर्ने दुई जिल्लासमेत रहेको सुरक्षा निकायले जनाएको छ। ती जिल्लामा आगामी असोजमा मात्रै निर्वाचन हुँदैछ।
पूर्वका एक महानगरपालिका, दुई उपमहानगरापलिका, ६० नगरपालिका र १ सय ८ गाउँपालिकाअन्तर्गतका ७ सय ७५ मतदानस्थललाई ‘संवेदनशील’ मानिएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ।
त्यसैगरी, पूर्वका विभिन्न भेगका ७ सय ६७ मतदानस्थललाई सुरक्षा दृष्टिले ‘समान्य’को सूचीमा राखिएको सो कार्यालयले जनाएको छ।
पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक सेवन्तराज दाहालले र भोजपुर र तेह्रथुम सुरक्षाका दृष्टिले सामान्य रहेको बताए।
मोरङमा मात्रै ६५ मतदानस्थल अतिसंवेदनशील
मोरङका विभिन्न तहअन्तर्गत ६५ मतदानस्थल सुरक्षाका दृष्टिले ‘अतिसंवेदनशील’ रहेको सुरक्षा समितिले जनाएको छ। मोरङका ३ सय मतदानस्थलमध्ये १ सय ४४ स्थललाई संवेदनशील र ८१ मतदानस्थल सामान्य सूचीमा राखिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।
सुरक्षा संवेदनशीलताको हिसाबमा मोरङको उतरी क्षेत्र र दक्षिणी इलाका बढी संवेदनशील मतदान केन्द्र रहेको सुरक्षा अधिकारीले बताएका छन्।
खासगरी पूर्वी भेगमा केही गैरराजनीतिक संघ–संगठन तथा तराई भेगमा भूमिगत समूहदेखि चुनाव बिथोल्ने घोषणै गरेका विप्लव माओवादीलाई चुनावी सुरक्षाका दृष्टिले चुनौतीपूर्ण मानिएको छ ।
चुनाव लक्षित सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासनले जनाएको छ । मोरङमा कूल ६ सय ५९ मतदान केन्द्र छन् भने ३ सय मतदानस्थल तय गरिएको छ। मोरङमा ५ लाख १४ हजार ६ सय १८ मतदाता रहेका छन्। र, मोरङ देशकै सबैभन्दा बढी मतदाता भएको जिल्ला पनि हो । त्यसमा प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा मात्रै १ लाख १३ हजार ७ सय ६१ मतदाता रहेका छन् । महानगरमा कूल १९ वडा रहेका छन् ।