ओलीको कदम प्रतिगमन मात्रै नभएर प्रतिक्रान्तितर्फ गयोः भट्टराई

449
views

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको मुखौटो लगाएर सत्तामा पुगेको आरोप लगाएका छन्‌।

फाईल फोटा

आफूद्वारा लिखित गुमनाम आमाहरूको कथा नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादी जनयुद्धले धेरै उपलब्धि गरेको छ, संविधान लेख्नका लागि त्यसले महत्वपूर्ण भूमिका खेलेको छ। तर, ओली त्यसलाई मान्न तयार छैनन्।’

उनले जनयुद्ध दिवसलाई साझा दिवसको रूपमा मनाउने वातावरण बनाउनका लागि आग्रहसमेत गरे। शहीद र बेपत्ता परिवारको विषयलाई पनि टुंग्याउनुपर्ने उनले बताए।

‘प्रधानमन्त्री ओलीको कदम प्रतिगमन मात्रै नभएर प्रतिक्रान्तितर्फ गएको छ। अन्तरराष्ट्रिय सेटिङको आधारमा अहिले ओलीले कदम चालेको छन्,’ भट्टराईले भने, ‘लामो समयसम्म लडेर ल्याएको कारण प्राप्त उपलब्धि बचाउनतर्फ लाग्नुपर्छ।’ उनले ओलीको कदमविरुद्ध सबै एकजुट भएर एकजुट हुनुपर्ने बताए।

‘नयाँ पुस्ताहरू समेत सडकमा आइरहेका छन्, सबै दल र नागरिक समाज एकजुट भएर लाग्नुपर्छ। कांग्रेसमा रामचन्द्र पौडेलजी लागि राख्नुभएको छ,’ उनले भने, ‘उहाँका अन्य नेताहरूले चाहिँ पदको लोभ भएर वा के भएर खुट्टा कमाइए राख्नुभएको छ, त्यसको विरुद्ध लाग्नुपर्छ।’

उनले प्रचण्डलाई पदको लोभ नगरी नयाँ पुस्तालाई अगाडि सार्न पनि सुझाए।