सडकबाटै प्रधानमन्त्रीको विदाई–क्रान्तिकारी युवा लिग

881
views

काठमाडौं, ३, फागुन । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपालले प्रधानमन्त्री केपी शर्मालाई भेट्न नपाएपछि हुलाक मार्फत भेटेका छन् । क्रान्तिकारी युवा लिग, नेपालले आईतवार बिहान हुलाक मार्फत उनको कार्यालयलाई ज्ञापन पत्र पठाएका हुन् ।

प्रधानमन्त्री रोजगार क्रार्यक्रम केबल उनका कार्यकर्ता संरक्षण गर्ने आधार भएकोले सबै युवाहरुलाई समानरुपले रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था गर्न आग्रहसहित राष्ट्रियता जनतन्त्रका बिषय समेटेर ६८ बुँदे ज्ञापन पत्र बुझाउन मागेको समयलाई ईन्कार गरेपछि हुलाक मार्फत पठाएको लिगका अध्यक्ष अमिर महर्जनले जानकारी दिए ।

विगत लामो समयदेखि लिगले प्रम ओलीको समय माग्दै आएको थियो । आइतबार राजधानीको संवाद डबलीमा ज्ञापन–पत्रको बिषयमा लिगले पत्रकार सम्मलेन गर्दै सो बारे जानकारी गराएको हो ।

प्रधानमन्त्री सिमित नेता कार्यकर्ताको सेवक बने, उनमा पुर्वाग्रह देखियो महर्जनले भने ‘प्रधानमन्त्रीसँग सडकबाटै भेट र सडकबाटै विदाई गर्दछौं ।’

लिगले बुझाएको ज्ञापनपत्रमा देशमा हरेक वर्ष करिब ५ लाख युवा जन–शक्ति उत्पादन हुने र निकै थोरैले मात्र लोकसेवा आयोग, सरकारी रोजगारी कार्यक्रम तथा वैदेशिक रोजगारमा सक्षम हुने भएकोले सबैलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र बेरोजगारहरुलाई भत्तको वातावरण मिलाउन माग गरिएको छ ।

त्यसैगरी कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपाली भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने,एमसीसी लगायतका राष्ट्रघाती परियोजना अभिलम्ब खारेज गर्नु पर्ने लगायतका मागहरु पनि ज्ञापन पत्रमा राखिएको छ । लिगले यदि देश र जनताको नामम राष्ट्रघाती कामहरु बढ्दै गए आफूहरु बिद्रोहमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन् ।