म्यानमारमा सडक जाम गरी हजारौंको प्रदर्शन

630
views

एजेन्सी । सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यानमारका विभिन्न शहरमा प्रदर्शन गरेका छन् । फेब्रुअरी एक तारिखमा सेनाले शासन हातमा लिएपछि म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनकारीहरूले नेतृ आङ सान सू चीसहित अन्य जननिर्वाचित नेताहरूको रिहाइको माग गरेका छन् । देशकै ठुलो शहर याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन् ।

अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको हो । म्यान्डलेको रेलवे स्टेसन नजिकै सुरक्षाकर्मीले गोली चलाउदा एक जना घाइते भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सुरक्षाकर्मीहरूले म्यान्डले रेलवे स्टेसनमा कैयौँ राउन्ड गोली चलाएको देखिएको छ । प्रदर्शनकारीहरूले सेनाको सामान बोकेको रेललाई अघि बढ्नबाट रोक्ने प्रयास गरेपछि गोली चलेको हो ।