आज ७१ औं प्रजातन्त्र दिवस

533
views

काठमाडौं, ७, फागुन । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिन । आज देशभर विभिन्न कार्यक्रम गरी ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ । यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने छ । एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा आज कै दिन गरिएको थियो ।