आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

682
views

काठमाडौँ, १०, फागुन । मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ ।

मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ । आज दिउँसो ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय गरिएको छ ।

मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो । मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ ।

मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “यसलाई पुनः परीक्षणका रूपमा लिइएको छ । विगतमा परीक्षण गर्दा दुर्घटना भयो, अहिले पुनः निर्माण गरी पथान्तरण गरिम्दै छ । विज्ञ समूहको अनुगमनले दिएका सुझावअनुसार थप काम गरेर परीक्षण गर्न लागेका हौँ । प्राविधिक रूपमै करिब दुई महिना परीक्षणको समय लाग्छ, त्यसपछि सुन्दरीजलमा पानी ल्याउन सकिन्छ ।’

गत असारमा पानी पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । आयोजनाले सुरुङ प्रवेशको चारवटा प्रवेशद्वारको फ्रेम परिवर्तन गरी जडान गरेको हो । हेडवक्र्स निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको प्रवक्ता शाक्यले जानकारी दिनुभयो । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिनेछ ।

काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर मात्रै आपूर्ति गर्दै आएको छ । निजी क्षेत्रबाट करिब दैनिक चार लाख लिटर आपूर्ति भएको छ । काठमाडौँ उपत्यकामा दैनिक ३१ करोड लिटर खानेपानीको अपुुग रहेको छ । गोरखापत्र अनलाईनबाट