संसद बैठक फागुन २० मा बोलाउने

218
views

काठमाडौं, १४, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक फागुन २० मा बोलाउने भएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठकबाट संसदको बैठक २० फागुनपछिको मिति पारेर बोलाउने सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने भएका छन् ।

बिहिबार ओलीले राष्ट्रपति भण्डारीसँग शितलनिवासमा भेटी संसद बैठक डाक्नेबारे परामर्श गरेका थिए । सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरी १३ दिनभित्र बैठक बोलाउन आदेश जारी गरेको छ । २४ फागुनभित्र संसद बैठक बोलाइसक्नुपर्छ ।

२० फागुनमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई दर्ता गराएकोमा आयोगविरुद्ध दायर रिटमाथि फैसला आउँदैछ ।

फैसला आएपछि नेकपाको वैधानिक विभाजन हुने या नहुने टुंगो लाग्नेछ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिने गरी फैसला आउने चर्चा चलिरहेको छ ।

यही अवस्थालाई दृष्टिगत गरी ओलीले २० फागुनपछि मात्र संसद बैठक बोलाउन सिफारिश गर्ने भएका हुन् ।

ओलीले आजै पार्टी संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई मनोनयन गरेका छन् । यसअघि देव गुरुङ मुख्य सचेतक थिए ।