कोरोना महामारी घटेपछि आर्थिक गतिविधिमा वृद्धि

589
views

काठमाडौं, १८, फागुन । कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ । बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो। वित्तीय स्रोत (पुँजी)को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ । वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो दुई महिनामा बैंकहरूसँग भएको लगानीयोग्य रकम २ खर्ब रुपैयाँ घटेको बताए । पुस मध्यतिर २ खर्ब ३० अर्बसम्म पुगेको अधिक तरलता (बैंक तथा वित्तीय संस्थाले तुरुन्त लगानी गर्न सक्ने गरी राखेको पैसा) आइतबार ७१ अर्ब रुपैयाँमा झरेको छ । तर, यसबीच राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित व्यवसायका लागि ८४ अर्ब रुपैयाँ पुनरकर्जा दिएको छ । पुनरकर्जा भनेको राष्ट्र बैंकले नयाँ पैसा छापेर बजारमा पठाउनेजस्तै हो। पुसपछि बैंकहरूले नयाँ ऋण नदिएको र निक्षेप फिर्ता पनि नभएको भए अहिले वित्तीय प्रणालीमा ३ खर्ब रुपैयाँभन्दा ज्यादा अधिक तरलता हुन्थ्यो ।

‘पुनरकर्जालाई जोडेर हेर्दा पुसमा भएको २ खर्ब रुपैयाँ अधिक तरलता व्यवस्थापन भइसकेको देखिन्छ’, प्रवक्ता डा. भट्टले भने । बैंकसँग अहिले ७१ अर्ब मात्रै रहेको र थप ९ अर्ब ५४ करोड राष्ट्र बैंकले तरलता प्रशोचन अर्थात् बजारबाट पैसा खिचेर लिएको छ । यो जोड्दा पनि अहिलेको अवस्थामा बैंकहरू ८० अर्ब रुपैयाँभन्दा बढी ऋण दिन सक्ने अवस्था छैनन् । निक्षेपकर्ताले पैसा फिर्ता लिन थाले भने त त्यति पनि ऋण दिने क्षमता रहँदैन। यसले एकातिर मुलुकमा आर्थिक गतिविधि बढेको देखाएको छ भने सँगै बैंकमा पैसा अभाव निम्तिन थालेको संकेत पनि गरेको छ ।

सामान्यतः नेपाली वित्तीय प्रणालीमा ३०–४० अर्ब रुपैयाँ अधिक तरलता रहेकै अवस्थामा पनि पैसा अभाव हुन थाल्छ । धेरै बैंक तथा वित्तीय संस्थामा छरिएर रहेको पैसा एकमुष्ट जोड्दा ठूलो अंक देखिने भए पनि हरेक बैंकको लगानी क्षमता बराबर हुँदैन ।

बजारमा लगानीयोग्य पैसा अभाव भयो भने त्यसको असर सुरुमै ब्याजदरमा पर्छ। बैंकहरूले एकातिर ऋणीसँग बढी ब्याज लिन थाल्छन् भने सँगै निक्षेपकर्ताले पाउने ब्याज पनि बढ्छ । आफ्नो बैंकमा निक्षेप तान्न यसअघि पनि बैंकहरूले ब्याजदर बढाउने प्रतिस्पर्धा गर्दै आएका थिए । तरलता अभाव देखिँदाको दोस्रो असरचाहिँ सेयर बजारमा पर्छ। ब्याजदर बढ्न थालेपछि सेयर बजार ओरालो लाग्न थाल्छ ।

असोजपछि बढ्न थालेको अन्तर्राष्ट्रिय व्यापारले तीव्रता पाएको छ। लामो समय बन्द रहेका औद्योगिक कलकारखानाले विदेशबाट कच्चा पदार्थ किन्ने क्रम हिउँद लागेसँगै बढ्न थालेको छ । राष्ट्र बैंकको तथ्यांकले पनि पुससम्म आइपुग्दा नेपालले पोहोर सालकै बराबर पैसा वस्तु आयातमा खर्चिसकेको छ । माघको औपचारिक तथ्यांक आउन बाँकी छ । तर, मागमा आयात निकै चुलिएको सरकारी अधिकारीहरू बताउँछन् ।

सेयर बजारमा पनि लगानी बढेको छ । असार मसान्तमा सेयर धितोमा ५० अर्ब रुपैयाँ लगानी भएकामा पुससम्म ७६ अर्ब रुपैयाँ कर्जा परिचालन भएको छ । माघ र फागुनमा सेयर धितो कर्जा अझै बढेको सेयर बजारको फैलँदो आकारले पनि जनाउँछ ।

बैंकहरूको तथ्यांक हेर्ने हो भने फागुन लागेपछि कर्जा विस्तार आक्रामक रूपमा अघि बढेको देखिन्छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुनको दुई सातामा २७ वटा वाणिज्य बैंकले मात्रै ४४ अर्ब रुपैयाँ थप कर्जा लगानी गरेका छन्। जबकि, यसबीचमा २३ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । अन्नपूर्ण पोस्टबाट