समाचार वाचनमा शुद्धताको प्रश्न

160
views

राम प्रसाद धिताल

तीन वर्षअघि एउटै टेलिभिजन (टीभी) संस्थामा काम गरेकी समाचार वाचिकाले आफूले पढेको ‘प्राइम’ समाचारको ‘यु–ट्युब लिंक’ फेसबुकमा पठाइन्। सहकर्म छाडेपछि प्रत्यक्ष र सामाजिक सञ्जालमा पनि सम्पर्कमा नरहेकी तिनले कुशल–मंगल सोध्ने चेष्टा पनि नगरी अचानक आफूले पढेको समाचार पठाएको देख्दा अचम्म लाग्यो।

समाचार हेर्दैै गर्दा तीन वर्षअघि उनीसँगै संस्थामा काम गर्दाको सन्दर्भ मानसपटलमा आइपुग्यो। एक दिन समाचार पढेर आउनेबित्तिकै भनें, ‘…जी ! ‘उध्योग’ होइन, ‘उद्योग’ हो है। ‘औध्योगिक’ पढ्दा अशुद्ध हुन्छ ‘औद्यौगिक’ पढ्नुपर्छ है।’ अरू पनि केही शब्द थिए, मैले बिर्सिएँ। मेरो कुरा राम्ररी सुन्न नपाउँदै उनले जिद्दी गरिन्, ‘कहाँ हुन्छ सर, नेपाल टेलिभिजन र अर्को ‘चर्चित’ टेलिभिजनका एंकर (वाचक) त उध्योग भन्छन्।’ उनी मान्नेवाला थिइनन्। कागज र कलम लिएर देखाएँ, ‘द् र य मिलेर द्य बनेको हो। त्यसैले उद् योग को, उद्योग हो।’

त्यतिखेर उनले यो कुरा बुझिन् वा बुझिनन्, थाहा भएन। तर आज तीन वर्षपछि उनी आज ‘उद्योग’ होइन ‘उध्योग’ नै पढिरहेकी थिइन्। बरु उनी आधा ‘ध’ मा बढी जोड लगाइरहेकी थिइन्। पुनरवलोकनलाई ‘पुनरावलोकन’ भनिरहेकी थिइन्। पुनर्निर्माणलाई बारम्बार ‘पुननिर्माण’ पढिरहेकी थिइन्। सँगै रहेका पुरुष मित्र भ्रष्टाचारलाई ‘भ्रष्टचार’, न्यायालयलाई ‘न्यायलय’ र न्यायाधीशलाई ‘न्यायधीश’ पढ्दा पनि सही नै छु भन्ठानिरहेका थिए होलान्।

नेपाली भाषाको उच्चारणमा लापरबाही गर्ने उनीहरू मात्र हुन् त ? अरू दुईचारवटा च्यानलका समाचार पनि हेरें। ‘टक सो’ (अन्तरवार्ता) हरू पनि नियालें। शुद्ध बोल्नुपर्छ/पढ्नुपर्छ भन्ने मान्यता अझै विकास भएको पाइनँ। सम्माननीयको ‘न’ उडाइदिएर ‘सम्मानीय राष्ट्रपति’ भनेको सुन्दा दिक्क लाग्यो।

अभियन्ताको ‘य’ मा आकार जोडेर ‘अभियान्ता’ भन्ने वाचकवाचिका र रिपोर्टर (संवाददाता) त कति–कति ! पूर्वाधारको ‘ध’ मा लागेका आकार हटाएर पूर्वधार र आक्रामकलाई ‘आक्रमक’ पढेको पनि सुनियो। हृदयाघातलाई ‘हृदयघात भनेको देखियो। शिक्षा, समीक्षा, अपेक्षा, प्रतीक्षाजस्ता शब्दमा रहेको ‘क्ष’ र ‘छ’ बीचको भिन्नता पनि धेरैले नबुझेको पाइयो। ती शब्द शिछ्या, समीछ्या, अपेछ्या र प्रतीछ्या पढ्ने धेरै रहेछन्। क्षतिलाई ‘छ्यति’ वा ‘छेति’ पढ्ने धेरै रहेछन्।

विद्या, विद्यालय, विद्यार्थी र अद्यावधिकको ‘द्य’ लाई ‘ध्य’ पढेको सुन्दा नेपाली भाषा पढेका/गुनेकाको कान कत्ति टट्याउँदो हो। आफ्नो रिपोर्टमा उद्यत लेख्ने रिपोर्टरले यो शब्दलाई राम्ररी पढ्न जानेकै हुँदैन। ऊ त्यसलाई ‘उद्दत’ वा ‘उध्यत’ पढिरहेको हुन्छ। समसामयिकलाई ‘समसामायिक’, कृत्रिमलाई ‘कृतिम’ उद्धारलाई ‘उद्दार’ राष्ट्रियलाई ‘राष्टिय’ जस्ता गल्ती त कति हो कति ? सामग्रीलाई ‘सामाग्री’, चाहनालाई ‘चाहाना’ भन्नु त सामान्य ठानिन थालियो। स्नातकोत्तरको ‘त’ उडाएर ‘स्नाकोत्तर’ पढ्ने टेलिभिजनकर्मी धेरै छन्।

‘स्क्रिप्ट’ मा पुनःसंरचना लेखेर पठाउँदा पनि ‘पुनर्संरचना’ र पुनःस्थापनालाई ‘पुनस्र्थापना’ पढ्ने मेरै सहकर्मी भेटेको छु। पुनः निर्माण पुनर्निर्माण हुन्छ भने पुनः संरचना किन पुनर्संरचना र पुनःस्थापना पुनस्र्थापना किन हुँदैन भन्ने तर्क गर्ने पनि छन्। नेपाली कांग्रेसले आफूलाई ‘कांग्रेस’ लेख्छ। हामी बढी जान्ने भएर नेपाली कङ्ग्रेस भन्छौं ? अमेरिकाको ‘कङ्ग्रेस त होइन यो !

प्रवृत्ति र निवृत्तको उच्चारण पनि सही भएको पाइँदैन। अधिकांशले प्रवृति र निवृत् भनेको सुनिन्छ। अन्योल र छनोट पनि शुद्धसँग नपढिने शब्द हुन्। समाचारवाचक/वाचिका र प्रस्तोता ‘अन्यौल’ र ‘छनौट’ पढ्छन्/भन्छन्। सूचकांकलाई ‘सूचांक’, संग्रहालयलाई ‘संग्रालय’ पढ्ने गरेको बग्रेल्ती सुनिन्छ।

आजको पुस्ता शब्दमा शंका लागे वा जिज्ञासा भए सोध्ने वा शब्दकोश पल्टाउने कष्ट पनि गर्न चाहँदैन।
कार्यालयसमेत ‘कार्यलय’ पढ्ने वाचक देखेर अचम्म लाग्छ। मृत्यु भन्न नजानेर ‘मृतु’ उच्चारण गर्ने पनि धेरै छन्। महालाई ‘माहा’ वा ‘माहाँ’ पढिएको सुनिन्छ। मध्यावधि शब्दमा पछाडि ‘मध्यावधिक’ उच्चारण गरेको सुन्दा अचम्म लाग्छ। पुनः स्वतः आदिमा रहेको विसर्गमा किन ध्यान नदिइएको होला ? प्रधानमन्त्री प्रजातन्त्र र प्रयोग जस्ता शब्द पनि राम्ररी उच्चारण गर्न नजानेर ‘पर्धानमन्त्री’, ‘पर्जातन्त्र’, ‘पर्योग’ भन्ने पनि छन्। ‘पर्वाह’ र ‘प्रवाह’ तथा ‘परिणाम र परिमाण’ बीचको भेद नजानेर एउटाको ठाउँमा अर्को उच्चारण गर्ने वाचकवाचिकालाई के संज्ञा दिने ? द्वन्द्व (द्वन्द्व) शब्द त अधिकांशले उच्चारण गर्नै सक्दैनन्।

‘अचेल सामग्री उच्चारण गर्न नजान्ने पनि वाचक छन्’, दुई वर्षअघिको भेटमा पुराना रेडियोकर्मी दामोदर अधिकारीले भनेका थिए, ‘त्यसैले रेडियो सुन्न र टेलिभिजन हेर्न मन लाग्दैन।’ हुन त अन्य भाषाजस्तो एउटा लेखिने अर्को पढिने भाषा होइन नेपाली। औपचारिक भाषामा जे लेखिन्छ, त्यही पढिन्छ। लेखिएको शब्दलाई उच्चारण गरे गल्ती थाहा भइहाल्छ।

अन्य मातृभाषा भएकालाई त नेपाली भाषाको शब्द उच्चारणमा भेद देखिँदा केही भन्न नमिल्ला। तर नेपाली मातृभाषीले नै गल्ती गर्दा शोभनीय हुँदैन। रेडियोकर्मी अधिकारीले भनेजस्तै आफूले पढ्ने भाषाको सामान्य ज्ञान पनि नहुनु कति लज्जाको विषय हो !

कहिलेकाहीं वाचकवाचिका धेरै जान्ने बन्न खोज्दा पनि गल्ती हुने रहेछ। पंक्तिकारले भोगकै उदाहरण– प्रमुख समाचारमा ‘३०० संक्रमित थपिए’ लेखिएको थियो। वाचिकाले पढिन्, ‘३०० जना संक्रमितहरू थपिए।’ संक्रमित भनेका जना नै हुन्, ३०० भएपछि बहुवचन भइसक्यो, ‘हरू’ लगाउनुपर्दैन भन्ने ज्ञान नहुँदा भाषा भद्दा बन्न पुग्यो। विद्यार्थी लेखेर पठायो, विद्यार्थीहरू पढेको सुनिन्छ। २२ पत्रकार टाइप गरेर दियो, २२ जना पत्रकार भनिन्छ। कतिपय वाचकवाचिका चाहिनेभन्दा बढी ‘स्मार्ट’ बन्न खोज्दा पनि गल्ती भइरहेको हुन्छ। जस्तै कतिपयले ‘छ’ पढेको नै नबुझिने। ‘छ’ हो कि ‘स’ ! ‘…बताउनुभएको छ’ भन्दा ‘छ’ भनेको हो कि ‘स’, छुट्याउनै मुस्किल पर्ने। छलाई ‘छ’ नै पढ्नुपर्ने होइन र ?

सरकारी सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनमा त ‘भाषाशैली पुस्तक’ पनि बनेका छन्। त्यहाँ भाषा कसरी प्रयोग गर्ने, कस्ता शब्द कसरी उच्चारण गर्ने, उल्लेख छन्। तर अचेल त्यहाँ जानेले शैली पुस्तक अध्ययन गर्छन् होला र ! तर निजी क्षेत्रका रेडियो–टेलिभिजनले त्यो आवश्यक नै ठान्दैनन्। कति निजी रेडियो र टेलिभिजनमा बनाइएको होला, शैली पुस्तक ?

वाचकवाचिका वा प्रस्तोता छान्ने बेला रेडियोमा ‘भ्वाइस टेस्ट’ र टेलिभिजनमा भ्वाइससँगै ‘स्क्रिन टेस्ट’ गरिन्छ। क्यामेरामैत्री अनुहार भए पुग्यो। अक्षर–शब्द शुद्ध उच्चारण गर्न जान्नुपर्दैन। शुद्ध उच्चारणलाई अनिवार्य पनि मानिँदैन। फेरि कसले जाँच्ने ? शुद्ध उच्चारण गर्‍यो कि गरेन भनेर बुझ्ने तहका सम्पादक पनि त टेलिभिजनमा हुनुपर्ला नि !

स्टुडियोमा पस्नुअघि समाचार वाचकवाचिकालाई हातमा एकएक प्रति स्क्रिप्ट पनि दिइएको हुन्छ। समाचार सुरु हुनुअघि, प्रमुख समाचारपछिको विश्राम र त्यसपछि आउने विश्रामका बेला उसले सरसर्ति हेर्न सक्छ। अप्ठ्यारा शब्द भए तयारी गर्न सक्छ। तर अचेल त्यस्तो हुँदैन। समाचार वाचन गर्न गएकाका हातमा मोबाइल हुन्छ। ‘म स्क्रिनमा कस्तो देखिएँ होला ?’, कपाल अलि मिलेन कि !’, ‘फेसबुक र यूट्युबमा कस्तो ‘कमेन्ट’ आइरहेको होला ?’ लगायत चिन्ताले उनीहरू शब्द केलाउनै भ्याउँदैनन्। अनि शुद्ध कसरी पढ्नु !

एकैपटक ‘प्रम्पटर’ (समाचार देखिने कम्प्युटर) बाट पढ्नुपर्दा वाक्य वा शब्दको मर्म नै मर्न पुग्छन्। समाचारको प्रकृतिअनुसार वाक्य कसरी वाचन गर्ने (पढ्ने), कहाँ विश्राम, आरोह–अवरोध दिनेजस्ता विषय ओझेलमै पर्छन्। साथै आजको पुस्ता शब्दमा शंका लागे वा जिज्ञासा भए सोध्ने वा शब्दकोश पल्टाउने कष्ट पनि गर्न चाहँदैन।

शब्द उच्चारणबारे कहींकतै प्रतिक्रिया (कमेन्ट) नै नआउने हुनाले पनि आफूले बोलेका कुरा ठीक रहेको लाग्नु पनि अस्वाभाविक होइन। पढेर आएपछि ‘उच्चारण कस्तो गरें’ भन्दा पनि ‘मेकअप कस्तो देखियो’ भन्ने विषय प्राथमिकतामा परेपछि सिक्ने कहिले ? शुद्ध बोल्ने कहिले ?

अन्नपुर्ण पोष्टबाट साभार