ब्याडमिण्टनको उपाधि बुर्तिवाङलाई

632
views

पोखरा, २९, फागुन । प्रथम विमल शेरचन स्मृति नेपाल थकाली पुरुष डबल्स् खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि बागलुङको वुर्तिवाङ क्षेत्रबाट सहभागि खेलाडी जीत बहादुर शेरचन र जेनीस शेरचनको टोलीले जितेको छ ।

शुक्रबार पोखरा स्पोर्टस र व्याडमिन्टन क्लव सिरमुर हल मुस्ताङ चोक, पोखरामा सम्पन्न भएको फाइनल खेलमा जीत बहादुर र जेनीस शेरचनको जोडीले थासाङ युथ क्लव काठमाण्डौं टिममा सहभागि बल बहादुर शेरचन र गोकुल शेरचनको जोडीलाई सोझो सेटमा पराजित गर्र्दै उपाधि जितेको हो ।

थकाली सेवा समिति पोखरा थासाङ युवा परिवारको थकाली युथ व्याडमिन्टन ग्रुपको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको प्रतियोगितामा पोखराको घरेलू टिममा सहभागि विपिन गौचन र रिजन शेरचनको जोडी तथा थकाली सेवा समिति नेपाल क्षेत्रिय समिति काठमाण्डौंबाट सहभागि खेलाडी रविन्द्र शेरचन र ड्रोन गौचनको जोडीले तेश्रो स्थानमा रहन सफल भएको हो । प्रतियोगिताका विजेता टोलीलाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो हुने दुवै टोलीलाई जनही १०/१० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

विजयी खेलाडीहरुको टोलीलाई थकाली सेवा समितिका केन्द्रिय अध्यक्ष सोम प्रसाद तुलाचन, थकाली सेवा समितिका क्षेत्रिय अध्यक्ष शिवशंकर गौचन, ग्रुपका अध्यक्ष असोक शेरचन लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, वुटवल, वेनी, बुर्तीवाङ, मुस्ताङ लगायतबाट २२ टिमको सहभागिता रहेको ग्रुपका सचिव एवं प्रतियोगिता संयोजक श्याम शेरचन (सोल्टी) ले बताए ।

पोखराको ड्यामसाइड स्थित होटल मनोलिसाका संचालक एवं सामाजिक व्यत्तित्व थकाली समुदायको हकहितमा लामो समय देखि लाग्दै आएका विमल शेरचनको स्मृतिमा उत्त प्रतियोगिता पहिलो पटक भव्य रुपमा सफल भएको अध्यक्ष शेरचनले जनाए । विमलका छोरा विजय शेरचनले उक्त प्रतियोगिताको लागि ५१ हजार रुपैया आर्थिक सहयोग गरेको ग्रुपले जनाएको छ ।