अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप अभियान नरोक्न डब्लुएचओको अपिल

622
views

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको भन्दै डब्लुएचओले खोप अभियानलाई निरन्तरता दिन आग्रह गरेको हो ।

सुरक्षा विशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसन्धानमा खोपमा कुनै त्रुटी नभएको पनि उसले जनाएको छ । युरोपका विभिन्न देशहरुले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप तत्कालका लागि लगाउन अस्थायी रोक लगाएको बेला डब्लुएचओको पछिल्लो भनाइ आएको हो ।

खोपबारे छलफल गर्न मंगलबार डल्ब्लुएचओका स्वास्थ्य विशेषज्ञहरुको विशेष बैठक समेत बस्दैछ । युरोपेली औषधि निकाय ‘ईएमए’को बैठक पनि बस्दैछ । उसले यसअघि नै खोपको प्रयोग जारी राख्नुपर्ने जनाएको छ ।

जर्मनी, फ्रान्स, इटली, नेदरल्याण्ड्स र स्पेन लगायतका देशमा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप प्रयोगमा अस्थायी रोक लगाइएको छ । बेल्जियम, पोल्याण्ड, द चेक रिपब्लिक र युक्रेनले भने आफूहरूले खोपको प्रयोग जारी राख्ने बताएका छन् ।

थाइल्याण्डले केही ढिलो गरी मंगलबारबाट उक्त खोप दिन शुरु गर्दैछ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो र इन्डोनेशियाले खोप कार्यक्रम पर सारेका छन् । यो खोप हालसम्म विश्वका १ करोड ७० लाख मानिसले लगाइसकेका छन् ।