माक्र्सवादको पक्ष र संशोधनवादको विपक्षमा नेपाली युवाहरुको भूमिका

205
views

–मोहन वैद्य ‘किरण’
नेपाली कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद र संशोधनवादका बीच निरन्तर संघर्ष चल्दै आएको छ । यस संघर्षमा कुनै बेला माक्र्सवाद र कुनै बेला संशोधनवाद प्रभावी बन्ने गरेका छन् । जुन बेला संशोधनवादमाथि माक्र्सवाद विजयी हुन्छ, त्यो बेला क्रान्तिले अग्रगति हासिल गर्दछ । परन्तु, जुनबेला संशोधनवाद प्रभावी हुन्छ त्यो बेला क्रान्तिले धोका र धक्का खाँदै आउनु परेको छ । माक्र्सवाद र संशोधनवाद बीचको यस संघर्षमा क्रान्तिकारी नेपाली युवाहरु माक्र्सवादको पक्ष र संशोधनवादको विपक्षमा उभिंदै आएका छन् । यो बेला नेपालमा प्रतिक्रियावादमा पतन हुन पुगेको संशोधनवादको गढभित्र ठुलै ज्वालामुखी विस्फोटित हुन गएको छ । यस स्थितिमा नेपाली क्रान्तिकारी युवाहरुले माक्र्सवादको पक्ष र संशोधनवादको विपक्षमा अझै कडा र सशक्त विचारधारात्मक संघर्ष चलाउन जरुरी छ ।

देश र जनताको मुक्तिका लागि नेपाली युवाहरुले धेरै रगत पसिना बगाउँदै आएका छन् । २०२८ सालको झापा विद्रोह प्रतिक्रियावादी राज्यसत्ताका साथै दक्षिणपन्थी संशोधनवादका विरुद्ध समेत एउटा ठूलो एतिहासिक विद्रोह थियो । जब झापा विद्रोहका नेतासहित दक्षिणपन्थी संशोधनवादीहरुले क्रान्तिप्रति गद्दारी गरे, त्यो बेला तात्कालीन नेकपा ( माओवादी )को नेतृत्वमा नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि महान् जनयुद्धको ऐतिहासिक उद्घोष गरियो र त्यो दश बर्षसम्म जारी रह्यो । यस प्रकारका संघर्षहरुमा नेपाली क्रान्तिकारी युवाहरुले त्याग, वीरता र बलिदानका अनुपम र उत्कृष्ट कीर्तिमान स्थापित गरे । परन्तु, संशोधनवादी नेताहरुले प्रतिक्रियावादीहरुसित आत्मसमर्पण गरी क्रान्तिप्रति विश्वासघात र गद्दारी गर्न पुगे । ऐतिहासिक झापा विद्रोह र दश वर्षीय महान् जनयुद्धमा बगेको रगतको आहालमा उभिएर कम्युनिस्ट नामधारी डबल नेकपाका नेताहरु प्रतिक्रियावादी राज्यसत्ताको सरकारमा आसीन भई निर्लज्जतापूर्वक आफूले ठूलै दिग्विजय गरेको घोषणा गर्न पुगे । परन्तु, तिनले विगतका जनआन्दोलन, झापा विद्रोह र दश वर्षीय जनयुद्धमा अभिव्यक्त नेपाली जनता र क्रान्तिकारी युवाहरुको त्याग, वीरता र बलिदानको मूल्यबोधलाई चटक्कै बिर्सिए ।

माक्र्सवाद र संशोधनवादका बीचको अन्तरलाई हामीले राम्रोसित बुझ्नु पर्दछ । माक्र्सवाद सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्त हो । माक्र्सवादका मूल मान्यता हुन्– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, क्रान्तिमा बलप्रयोगको अपरिहार्यता, वर्गसंघर्ष तथा सर्वहारा अधिनायकत्वसहित वैज्ञानिक समाजवाद र साम्यवादको स्थापना । संशोधनवादले माक्र्सवादका यस प्रकारका आधारभूत मान्यताको विरोध तथा परित्याग र पुँजीवादी तथा प्रतिक्रियावादी विचारधारा अवलम्बन गर्दछ ।

संशोधनवाद मूलतः तीन प्रकारका हुन्छन्– दक्षिणपन्थी, मध्यपन्थी र उग्रपन्थी । दक्षिणपन्थीहरु माक्र्सवादका मूल प्रस्थापनाहरुलाई परित्याग गर्दै र सुधारवादी बन्दै प्रतिक्रियावादतर्फ गइरहेका हुन्छन् । मध्यमपन्थीहरुले आधा दक्षिणपन्थी र आधा क्रान्तिकारी धाराका बीचमा उभिएर निकै ढुलमुल तथा दोलायमान चरित्र प्रस्तुत गर्दछन् । उग्रपन्थीहरु भने निकै चर्का र उत्ताउला कुरा गरेर मान्छेलाई रनभुल्लमा पार्ने काममा उद्यत हुन्छन् । अन्ततः यी तीनै थरी संशोधनवादीहरु या त प्रतिक्रियावादको कित्तामा पुग्दछन् या त्यस कित्ताको सेबक बन्दछन् । हामीले यस प्रकारका सबै संशोधनवादीहरुलाई राम्रोसित चिन्दै र तिनको विरोध गर्दै जानु पर्दछ ।

विश्वका विभिन्न देशहरु र साथै नेपालमा पनि संशोधनवादीहरुले क्रान्तिकारी युवा तथा जनसमुदायका बीच विभिन्न प्रकारका भ्रमहरु छर्ने काम गर्दै आएका छन् । ती भ्रमहरु मूलतः यी हुन्ः

पहिलो, कम्युनिस्ट नामधारी पार्टी बनाउनु । पार्टीको नाम कम्युनिस्ट राखेर संशोधनवादीहरुले ठूलै मात्रामा भ्रमको खेती गर्दै आएका छन् । नेपालमा पनि कतिपय कम्युनिस्ट समूह यस्तै छन् र यी मध्ये डबल नेकपा पहिलो पंक्तिमा आउँछ । यदि त्यसको नामलाई पर सारेर त्यसले अंगालेका नीति तथा कार्यक्रममा आँखा लगाउने हो भने नेपाली कांग्रेस लगायतका पार्टी र डबल नेकपाबीच तात्विक भिन्नता देखिदैन ।

दोस्रो, समाजवादको भ्रम छर्नु । प्रायशः सबै कम्युनिस्ट नामधारी पार्टीहरुले आफूलाई समाजवादको पक्षधर देखाएर अनेकौ विभ्रम खडा गर्दै आएका छन् । वस्तुत, समाजवाद धेरै किसिमका हुन्छन्– प्रतिक्रियावादी, सुधारवादी, काल्पनिक, वैज्ञानिक, आदि । वास्तविक समाजवादी को हो र को होइन भनेर छुट्याउने प्रमुख कसौटी सर्वहारा वर्गको अधिनायकत्व हो । जसले सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई मान्दछन्, ती वास्तविक अर्थात् वैज्ञानिक समाजवादी हुन् र जसले यो सिद्धान्तलाई मान्दैनन् ती नक्कली समाजवादी हुन् ।
तेस्रो, इतिहासको ब्याज खानु । कैयौ संशोधनवादीहरु इतिहासको एउटा कालखण्डमा माक्र्सवादी थिए र त्यो बेला उनीहरुले राम्रा काम पनि गरेका थिए । परन्तु, इतिहासको अर्को कालखण्डमा ती विचारधारात्मक र व्यावहारिक दुबै हिसाबले संशोधनवादी बन्न गए । कार्ल काउट्स्की, देङ् शिआओपिङ्, केपी ओली, प्रचण्डहरु यसै कित्तामा पर्दछन् । उनीहरु वास्तविक कम्युनिस्ट होइनन्, तर पनि तिनले इतिहासको ब्याज खाएर आपूmलाई कम्युनिस्ट भनाउने कसरत गरिरहेका हुन्छन् ।

चौथो, सिर्जनशील माक्र्सवादको गफ हाँक्नु । संशोधनवादीहरुले आपूmलाई सिर्जनशील माक्र्सवादी र सच्चा माक्र्सवादीहरुलाई जडसूत्रवादी बताउने गर्दै आएका छन् । उनीहरु के भन्दछन् भने माक्र्सवाद विकसित हुँदै जान्छ र अब पुरानो शास्त्रीय माक्र्सवाद काम लाग्दैन । यो अत्यन्तै भूmट कुरा हो । माक्र्सवादको विकास गर्नु पर्छ र पुराना शास्त्रीय सूत्रहरुमा मात्र टाँसिएर हुँदैन । यतिसम्म कुरा साँचो हो । तर सिर्जनात्मक विकासका नाममा माक्र्सवादको सारतत्वको हत्या गरेर र प्रतिक्रियावादी विचारधारा स्विकारेर कुनैपनि मानिस माक्र्सवादी हुनै सक्तैन ।

विभिन्न खाले संशोधनवादको विरोधमा लेनिन, माओ लगायतका नेताहरुले जीवन मरणको संघर्ष चलाउनु भयो । लेनिनले बनस्र्टाइन, काउट्स्की लगायतका दोस्रो अन्तर्राष्ट्रियका दिग्गज हस्तीहरुलाई विचारधारात्मक संघर्षमा धुलो चटाएर एकातिर क्रान्तिकारी माक्र्सवादको रक्षा गर्नुभयो भने अर्कोतिर आफ्नै पहलमा रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्नु भयो । यो माक्र्सवादको रक्षा, प्रयोग र विकासकै ऐतिहासिक परिघटना थियो । यस प्रक्रियामा रुसका क्रान्तिकारी युवाहरुले लेनिन र बोल्सेभिक पार्टीलाई पुरै साथ दिएका थिए । त्यस्तै चीनमो एकातिर माओले नयाँ जनवादी तथा समाजवादी क्रान्तिकालमा नाना तरहका संशोधनवादीहरुसित लड्दै अगाडि बढ्नु भयो भने अर्कोतिर महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्म आउँदा त्यो संघर्ष अझै भीषण र पेचिलो बन्न गयो । यसै क्रममा माओले माक्र्सवाद–लेनिनवादको रक्षा, प्रयोग र विकास गर्नु भयो । यसरी नै माक्र्सवादको रक्षा, प्रयोग र विकासको क्रममा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्माण हुनपुग्यो ।

चीनमा माओको नेतृत्वमा सञ्चालित महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विश्व कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको इतिहासमा विशेष महत्व छ । त्यो क्रान्ति बहुआयामिक प्रकारको छ । पहिलो, त्यो क्रान्ति पुराना विचार, मान्यता, आदत, बानी–बेहोरा, संस्कार आदिका विरुद्ध प्रभावकारी ढङ्गको सांस्कृतिक क्रान्ति थियो । दोस्रो, त्यो मात्र सांस्कृतिक क्रान्ति थिएन अपितु, भीषण प्रकारको राजनीतिक क्रान्ति पनि थियो । तेस्रो, त्यो पार्टीभित्रको दुई लाइन संघर्षको एक उत्कर्ष थियो । चौथो, त्यो पार्टी र सत्तामा घुसेका पुँजीवादपन्थी तथा प्रतिक्रियावादी तत्वहरुका विरुद्ध भयानक वर्ग संघर्ष थियो । यसरी हेर्दा, त्यो महान् सर्वहारा सांस्कृतिक क्रान्ति दुई लाइन संघर्ष र वर्ग संघर्ष एउटै विन्दु र ठाउँमा अन्तरघुलित बन्न गएको एउटा विशिष्ट प्रकारको ऐतिहासिक क्रान्ति थियो । यहाँनेर ध्यानदिन योग्य कुरा के छ भने यस प्रकारको क्रान्तिको सञ्चालनमा क्रान्तिकारी युवाहरुका विभिन्न कमिटी, दस्ता र टिमहरुले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । हामीले यस क्रान्तिको गहिरो अध्ययन गर्नु पर्दछ र यसबाट धेरै महत्वपूर्ण शिक्षाहरु हासिल गर्दै जानु पर्दछ ।

शान्ति प्रक्रियामा आएयता तात्कालिक नेकपा (माओवादी) भित्र जुन दुई लाइन संघर्ष विकसित हुँदै गयो, त्यो संशोधनवादी र माक्र्सवादी धाराबीच अन्तर–संघर्ष मात्र थिएन, अपितु प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थासितको डरलाग्दो वर्गसंघर्ष पनि थियो । जस्तो कि एउटा उदाहरण पेश गरौं । त्यो बेला पार्टीमा चल्दै आएको दुई लाइन संघर्षका विभिन्न बुँदा मध्ये एउटा जनमुक्ति सेना समायोजनसित सम्बन्धित महत्वपूर्ण बुँदा पनि थियो । हामी तत्कालै विना हैसियत र संविधान सभाबाट नयाँ संविधानको टुंगो नलाग्दै जनमुक्ति सेना समायोजनको पक्षमा थिएनांै । तर, राज्यसत्ता र सरकारको नेतृत्व गरेको आफ्नै पार्टीका प्रधानमन्त्रीले नेपाली सेना खटाएर जनमुक्ति सेना माथि ‘कु’ गरे र क्यान्टोनमेण्ट कब्जा गरे । यो विशेष स्मरणीय नकारात्मक परिघटना हो ।

यसरी नै घटनाक्रम नकारात्मक दिशातिर नै विकसित हुँदै गयो । आखिर माओवादीभित्रका संशोधनवादीहरु पुरानै ढङ्गको संसदवादी संविधान बनाउन सहमत भए । त्यति मात्र होइन, माओवादीभित्रको संशोधनवादी धारा एमालेमा विलीन हुन पुग्यो । यसै क्रममा डबल नेकपा बन्यो । डबल नेकपाभित्र व्यक्तिगत अहं, पद, प्रतिष्ठा, स्वार्थ र भागबण्डाका लागि भीषण अन्तर्कलह चर्कियो । आरोप–प्रत्यारोपका श्रृङ्खला बढ्दै गए । पार्टी औपचारिक रुपमा मात्र विभाजित हुन बाँकी रहयो । यसै बीचमा प्रधानमन्त्री र पार्टीको एउटा अध्यक्ष रहेका ओलीले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको बाटो पकडे ।

संसदीय व्यवस्थाभित्र झण्डै दुई तिहाइ बहुमतको सरकार छँदा छँदै यस प्रकारको कदम चालिनुलाई सामान्य अर्थमा मात्र ग्रहण गर्न सकिदैन । यस कदमको विभिन्न रुपमा विश्लेषण गर्दै जानु आवश्यक छ । प्रम ओलीको यस कदमलाई नेपाली काङ्ग्रेस लगायतका पुराना संसदवादी राजनीतिक दलहरुले कम्युनिस्टहरुको असफलता भन्ने गरेका छन् । परन्तु, कुरा त्यसो होइन । असली अर्थमा प्र.म.ओलीको यो कदम एकातिर वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, संसदीय व्यवस्था तथा संविधानकै असफलताको द्योतक हो भने अर्कोतिर प्रतिक्रियावादमा गिरिसकेको संशोधनवादको पतनको अभिव्यक्ति हो । यसबाट के स्पष्ट हुन्छ भने अहिले नेपालमा संसदवाद मात्र होइन, त्यसको पुच्छर समात्दै हिंडेको संशोधनवादको पनि ओह्रालो लाग्ने प्रक्रिया शुरु भएको छ ।

यद्यपि सर्वोच्च अदालतमा प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक बताउँदै दर्जन बढी निवेदनहरु परेका छन् । अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना वा मध्यावधि निर्वाचन मध्ये कुनै निर्णय आउला । तर, त्यसबाट वर्तमान राज्यसत्ता, व्यवस्था तथा संविधानमा पैदा भएका संकटको असली समाधान हुन सक्तैन । यो सङ्कट राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्रको स्थापना र जनजीविकाका अति गंभीर र विकराल बन्दै आएका आर्थिक, राजनीतिक तथा सांस्कृतिक समस्यासित संबन्धित छ । यस प्रकारको संकटको वास्तविक समाधानका लागि नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नु अपरिहार्य छ । संघीय जनगणतन्त्रको स्थापना गरेर नै सङ्कटको समाधान गर्न सकिन्छ ।

आज नेपाली क्रान्तिकारी युवाहरुले दुई कुरामा विशेष जोड दिनु पर्दछ । पहिलो, माक्र्सवादको पक्ष र संशोधनवादको विपक्षमा विचारधारात्मक संघर्षलाई सशक्त रुपमा विकसित तुल्याउन जरुरी छ । दोस्रो, संशोधनवादको वास्तविक विरोधको काम माक्र्सवादको रक्षा, प्रयोग र विकासका बीचबाटै हुन सक्तछ । यस निम्ति क्रान्तिको तयारीका काममा प्रभावकारी ढङ्गले अगाडि बढ्न आवश्यक छ । क्रान्तिकारी युवा लिगको मुखपत्रबाट