‘थ्रि नेशन्स कप’ फुटबल : आज नेपाल र किर्गीस्तान भिड्दै

750
views

काठमाडौं । काठमाडौंमा जारी थ्रि नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र किर्गीस्तान भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँढे ५ बजे सुरु हुने खेलमा नेपालको सिनियर राष्ट्रिय टोलीले किर्गीस्तानको २३ वर्ष मूनीको टिमसँग खेल्न लागेको हो ।

प्रतियोगितामा आयोजक नेपालको यो पहिलो खेल हो भने किर्गीस्तानको दोस्रो खेल हो । गत मंगलवार भएको उद्घाटन खेलमा किर्गीस्तान बंगलादेशसँग १–० ले हारेको थियो ।

प्रतियोगिताको फाईनलमा पुग्न उसलाई आजको खेल जित्नैपर्ने दबाब छ । तर घरेलु मैदान र समर्थकको साथ पाएको नेपाल विरुद्धको खेल किर्गीस्तानको लागि सहज भने हुने छैन् ।

प्रतियोगिताको लागि हिजो मात्रै किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।

राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, डिफेन्डर देवेन्द्र तामाङ र सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् ।

नेपालको टीममा पर्न सफल अन्य खेलाडीहरुमा विकेश कुथु, दीप कार्की, रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन र छिरिङ गुरुङ छन् ।

यसैगरी मिडफिल्डरमा त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबि शंकर पासवान छन् भने फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल र भरत खवास छन् ।