जंगलको आगो बस्तीमा पुग्दा ५ घर, १५ गोठ जले

638
views

पर्वत,२८, चैत्र । दक्षिण पर्वतको पैयुँ गाउँपालिका वडा नं. ६ डाँडाकाहुँमा शुक्रबार दिउँसो भएको आगलागीमा ५ घर र १५ गोठ जलेका छन् । डाँडाकाहुँको भिरमा रहेको जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेका हुन् ।

आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छबिलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ ।

आगोले स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति पुगको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए ।

आगलागीबाट पूर्ण क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । त्यसैगरी अन्य सामान्य क्षति पुगेकालाई टेण्ट, र त्रिपाल वितरण गरिएको छ ।