सडक बनाउन माग गर्दै स्थानीय आन्दोलित

658
views

बेनी । एक वर्षदेखि अलपत्र म्याग्दीको सदरमुकाम बेनी बजारमा निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनालाई पुर्णता दिन माग गर्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।

धुलो र हिलोले आजित भएका मंगलाघाटका बासिन्दाले सडक निर्माण सुरु गराउन दवावका लागि जिल्ला प्रशासन कार्यालय घेराउ र चक्काजाम गरेका हुन् । मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्रे गर्ने योजनालाई पुर्णता दिन माग गर्दै बेनी नगरपालिका–७ मंगलाघाटका बासिन्दाले शुक्रबार बेनी–दरवाङ सडकमा एक घण्टा चक्काजाम र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

निर्माण ब्यवसायी र सम्बद्ध कार्यालयले प्रतिवद्धता अनुसार सडक कालोपत्रे गर्न बेवास्ता गरेपछि मंगलाघाटका तीन वटा टोल सुधार समिति, वौद्ध युवा क्लव र आमा समूहले संयुक्त आन्दोलन गरेको मंगलाघाट टोल सुधार समितिका अध्यक्ष खिमबहादुर छन्त्यालले बताए ।

सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको मंगलाघाट देखि बेनी नगरपालिकाको वडा नम्बर २ को हाडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रेमा भएको ढिलासुस्तिले नागरिकलाई सास्ति, साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ । मंगलाघाट मंगला, मालिका र धवलागिरी गाउँपालिका र हाडेभिर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको योजनाको म्याद २०७७ माघमा सकिएपनि निर्माण ब्यवसायीले काम सूचारु गर्न बेवास्ता गरेका छन् ।