सभामुखमाथि प्रधानमन्त्रीको आक्रोष

503
views

काठमाडौं, ४, बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकाश दिनु आवश्यक रहेको बताए ।

बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले सर्वदलिय बैठक बोलाएको पनि जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । संसदीय कामकारबाहीमा सभामुखले भाँजो हालेको भन्दै सभामुखकै कारण संसद बन्धक बनेको ओलीले आरोप लगाए । बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत दावी गरे ।

बैठकमा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपाकै नेताहरू उपस्थित थिएनन्।प्रमुख प्रतिपक्षी दलको तर्फबाट भने सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत थिए ।