सजिव शब्दचित्र ‘प्रतिरोध’ कवितासङ्ग्रह

968
views

काठमाडौं, ६, बैशाख । नेपालको प्रगतिवादी साहित्याकाशकी सशक्त हस्ताक्षर कवि गौरी देवकोटाको नयाँ कृति ‘प्रतिरोध’ कवितासङ्ग्रह भर्खरै बजारमा आएको छ । कविको यो चौथो पुस्तकाकार कृति हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रकशित गरेको उक्त पुस्तक आज एक कार्यक्रमका बिच सार्वजनिकीकरण तथा परिचर्चा गरिएको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा गरिएको कार्यक्रममा बोल्ने समिक्षकहरूले कवि देवकोटाको सो पुस्तक वर्तमान समयको यथार्थ र जिवन्त शब्दचित्र भएको बताए ।

कार्यक्रममा वरिष्ठ माक्र्सवादी समालोचक प्रा.डा.जगदीशचन्द्र भण्डारीले पुस्तकबारे चर्चा गर्दै गौरीजीका कविताले सर्वहारा मानवतावादको पक्षमा आवाज बुलन्द गरेको बताए । उनले कवि देवकोटाका कवितामा ‘सुन्दर भविश्यको खोजी गर्दै वर्तमान समयसँग सम्वाद गरेका छन्’ भने ।

समालोचक डा. भण्डारीले ‘माक्र्सवादी दर्शन, राजनीति र क्रान्तिको झोला फ्याँकेर संसदीय व्यवस्थामा लम्पसार पर्दै पद, प्रतिष्ठा र जीवनको भीख माग्न पुगेका धोखेबाजहरूप्रति गौरीजीले आफ्ना कवितामा कलाका माध्यमबाट कडा प्रहार गर्दै निरन्तर क्रान्तिको आशा जगाउने काम गरेको’ बताए ।

प्राध्यापक भण्डारीले कवितामा हुनु पर्ने विचारतत्वबारे चर्चा गर्दै ‘आजका कविताहरूले विद्रोह बोल्दैनन्, कुरूप वर्तमानसँग प्रतिरोध गर्दैनन् भने त्यस्ता कविता वकिली बहस हुन जान्छ’ भन्दै प्रस्तुत कविताहरूमा द्वन्द्व र प्रतिरोध बोलेका छन् भने । उनले प्रस्तुत कृतिमा अभिव्यक्त विचारको विकास र निरन्तर क्रान्ति कविताका सवल पक्ष रहेको औँल्याए ।

यसैगरी अर्का समालोचक डा.गीता त्रिपाठीले प्रस्तुत कृतिमा कोरोनाका भाइरसजस्तै वर्तमान राजनीतिका भाइरसहरूका बारेमा चिरफार गरिएका कविताहरू रहेको बताइन् । उनले ‘कवि गौरीजीको प्रतिरोध कृतिमा सङ्गृहित कविताहरूले समाजका सबै पक्षका समस्याहरूको विषय उठान गरिएको’ उल्लेख गरिन् । मानवीय मूल्यहरूको बारेमा सशक्त आवाज उठाउनु कविताको मुख्य विशेषता रहेको त्रिपाठीको टिप्पणी थियो । त्यसैगरी कृतिको समालोचकीय टिप्पणी गर्ने अर्की समिक्षक थिइन् डा.विन्दू शर्मा । उनले प्रस्तुत कृतिमाथि टिप्पणी गर्दै ‘निरन्तर क्रमवद्धतामा पाठकलाई डो¥याउनु कविको क्षमता रहेको’ बताइन् । ‘वर्तमानको यथार्थ चित्रण गर्दै हरेक निरासा र नकारात्मकताबाट पनि अन्त्यमा सकारात्मक सन्देश दिनु कविताको सवल पक्ष रहेको’ डा. विन्दूको धारणा थियो ।

प्रतिरोध कसिवतासङ्ग्रहबारे टिप्पणी गर्ने अर्का समालोचक थिए तेजविलास अधिकारी । उनले गौरीका कविताहरूमा विषयको विभिदता रहेको, क्रान्तिनायकहरूको विचलनताप्रति कठोररूपमा वैचारिक आलोचना गरिएको बताए । साथै ‘नेपाली समाजको वर्तमान अवस्थाको साँचो प्रतिनिधित्व यस कवितासङ्ग्रहले गरेको’ समिक्षक तेजविलासको कथन थियो ।

कार्यक्रमको अध्यक्षता गरेका महासङ्घका महासचिव, कवि तथा आख्यानकार हिरामणि दुःखीले गौरी देवकोटासँग आफ्नो लामो सहकार्यको चर्चा गर्दै ‘कवि गौरी आफू उभिएको समाजसँग कविताका माध्यमबाट गम्भीर सम्वाद गर्न सफल स्रस्टा रहेको’ बताए । दुःखीले गौरीका कविताहरूमा वर्तमान समयको कूरूप यथार्थका विरुद्ध वैचारिक प्रतिरोध गर्दै उज्यालो भविश्यप्रतिको आशावादिता प्रकट भएका छन् भने ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन महासङ्घका केन्द्रीय सदस्य कवि तथा समालोचक छायादत्त न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य अखिल नेपाल लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि मित्रलाल पंज्ञानीले गरेका थिए ।

कार्यक्रममा कवि विभूति भट्टराईले प्रस्तुत कवितासङ्ग्रह भित्रको ‘चम्किला पाइलाहरू’ शीर्षकको कविता वाचन गरेकी थिइन् । प्रस्तुत सङ्ग्रहको एक कविता ‘निर्लज्ज मान्छेहरू’ वाचन गर्दै दुःखीले कार्यक्रम समापन गरेका थिए ।