भूमिहीनको विवरण संकलनमा भेदभाव नगर्न मन्त्री तुम्बाहाङ्फेको निर्देशन

529
views

काठमाडौ, ६, बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न निर्देशन दिएकी छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई निर्देशन दिदैं उनले केही स्थानीय तहमा यस्तो समस्या देखिएको गुनासो आएकोले राजनीतिक रुपमा भेदभाव नगरी काम गर्न सुझाईन् ।

भूमिसम्बन्धी समस्या समाधान आयोगको ‘वार्षिक प्रगति समिक्षा एवं वार्षिक प्रतिवेदन–२०७७’ सार्वजनिक कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुले गलत विवरण संकलन गरेमा कारबाही गर्नेतर्फ पनि ध्यान दिन आयोगलाई आग्रह गरिन् ।

कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले केही पालिकाहरुमा आफू अनुकुलको सरकार आएपछि मात्रै काम गर्ने मनसाय रहेकाले समस्या भएको बताए ।

आयोगको प्रतिवेदन अनुसार देशभर ४ लाख ६ हजार ५ सय २ जना भूमिहिन सुकुम्बासीको संख्या रहेको छ । यस्तै अव्यवस्थित बसोबास गर्नेहरुको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ ।