भारतबाट पाँचलाख मेट्रिक टन मल ल्याउने सम्झौताको तयारी

820
views

काठमाडौँ, ६, वैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भारतबाट जीटुजी (सरकार–सरकार) सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ । सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको कृषि मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सचिव डा.योगेन्द्र कार्कीका अनुसार भारतसँग पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर हुन गइरहेको छ, यो सम्झौता भएपछि पाँच वर्षका लागि रासायनिक मलको समस्या हट्ने विश्वास हामीले लिएका छौँ ।

सुरुको वर्ष दुई लाख माग गर्ने त्यसपछि वर्षैपिच्छे बढाउँदै जाने र पाँच लाख मेट्रिक टनसम्म मल भारतबाट ल्याउने सम्झौता हुन गइरहेको काकीृले बताए ।

भारतबाट युरिया र डीएपी रासायनिक मल मात्र ल्याउने मन्त्रालयले जनाएको छ ।

यसअघि कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल ल्याउने भनी जीटुजी सम्झौता गरेको थियो । त्यसमध्ये २२ हजार पाँच सय मेट्रिक टन नेपाल ल्याइसकेको छ । दोस्रो लटको १० हजार मेट्रिक टन मल आउने क्रममा रहेको छ ।

त्यस्तै टेन्डरमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल नेपालले ल्याइसकेको छ ।

मलको अभावलाई कम गर्न भारत, बङ्गलादेश, चीनलगायतका देशबाट सरकारले मल ल्याउने सुर गरेको सचिव कार्कीले बताए ।