बागलुङको काठेखोलामा भकारो सुधार अभियान

510
views

बागलुङ, ८, बैशाख । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ को फापरचौर र लामखुम गाउँका किसानले भकारो सुधार अभियान चलाएका छन् । पशुको स्याहार र मलमुत्रको सदुपयोग गर्दा उत्पादकत्व बढाउन भकारो सुधार गरेर मलमुत्र संकलन अभियान चलाएको स्थानीय किसान भूमिश्वर कंडेलले बताए ।

मिलिजुली दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध उत्पादन गरेर बजार पठाउने किसानले बारीको उत्पादकत्व समेत बढाउन लागेको बताए ।

भकारो सुधार गर्दा किसानले गाइभैसीको मुत्र संकलन गर्ने गर्छन् । अध्ययन अनुसार मलबाट भन्दा मुत्रबाट बढी उत्पादन गर्न सकिने भएकोले संकलन पद्दती अपनाउने गरिएको हो । तरकारी खेतीका लागि पशुको मलमुत्र जैविक मलको रुपमा प्रयोग हुन्छ ।गाउँपालिकाले फापरचौरका ५० घरका लागि प्रतिघर २५ हजार बजेट विनियोजन गरेपछि अभियान चलेको हो ।

भकारो ढलान गर्ने, मलमुत्र सहजै तर्काउने काम गर्दा गाइभैसीको सरसफाइ समेत हुने गरेको किसानले बताए ।भकारो सुधारसँगै गाउँमा रसायनिक मल भित्रिन नदिने अभियान पनि चलाइएको वडा अध्यक्ष शिवप्रसाद कंडेलले बताए ।

अर्गानिक तरकारीको गाउँ बनाउने अभियानमा वडा र गाउँपालिकाले साथ दिएको उनले जानकारी दिए । पछिल्लो समय किसानले बारीमा अर्गानिक तथा ताजा तरकारीको उत्पादन बढाएका छन् ।मध्यपहाडी लोकमार्ग छेउछाउमा खुलेका होटल तथा रेष्टुरेन्टमा पनि उनीहरुको उत्पादन सहजै बिक्री हुन थालेको छ ।

घरमै खानका लागि मात्र तरकारी फलाउने किसानले व्यवसायिक बनेर राम्रो कमाई गर्न सफल भएको स्थानीय ज्ञानकुमारी श्रीषले जानकारी दिइन् । कमाइलाई सामुहिक बचत र व्यक्तिगत बचत अभियान समेत चलाएको उनको भनाइ छ ।