कुश्मा नगरपालिकाका सबै सेवा बन्द

520
views

नम्रता लामिछाने
पर्वत, ९, बैशाख । कोभिड–१९ को नयाँ भेरियन्ट फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिकाका सम्पुर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको छ ।

कुश्माबजारमा विहीवारदेखि लागु हुने गरी वैशाख १५ गते बुधवारसम्म सवै सेवा ठप्प पारिएको हो । कार्यालयवाट सम्पादन हुने नियमित सेवाहरु योजना सम्झौता, योजना फरफारक, राजश्व संकलन भुक्तानी लगायतका कार्यहरु पुर्ण रुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार अत्यावश्यक सेवाहरु जस्तै स्वास्थ्य, फोहोरमैला संकलन, दमकल लगायतका सेवाहरु भने नियमित रुपमा संचालन हुने भएका छन् । एक साता नगरपालिका बन्द हुँदा सेवाग्राहीमा पर्ने असरप्रति क्षमायाचना गर्दै कोभिड–१९ विरुद्ध संवेशनशिल बन्न कार्यालयले आग्रह गरेको छ ।

नगरपालिकाले वडा नं. ३ दुर्लुङ्गको चनौटे गाउँमा आयोजना गरेको सातौ नगर सभा समेत स्थगित गरेको छ । पहिलोपटक कार्यालय बाहिर बिहीवार आयोजना गरिएको सभा संक्रमणकै कारण स्थगित गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । यसैबीच जिल्ला प्रशासन कार्यालयले पनि सुचना जारी गर्दै भिडभाड हुने सवै गतिविधि बन्द गर्न आग्रह गरेको छ ।

प्रहरीले मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा चेकजाँचलाई कडाई गरिएको छ भने सवारी साधनहरुमा समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ ।