कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

459
views

काठमाडौँ, ९, वैशाख । नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।

सो स्तरको तालिमका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०७६ भदौदेखि सञ्चालमा आएको सो तालिम केन्द्रमा नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिइँदै आएको छ । सो तालिम केन्द्र दुई सय रोपनीमा फैलिएको छ ।

पहिलो चरणमा २४ जनाले बाली विज्ञान र १६ जनाले भेटेरिनरीतर्फको तालिम लिइसकेको र हाल ८० जनाले तालिम लिरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

८० जनामध्ये ७६ जना बहालवाला र चार जना अवकाशप्राप्त सैनिक रहेका छन् ।

तालिम लिइसकेपछि रोजगारी गर्न चाहनेका लागि नेपाली सेनाले सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । त्यसका लागि नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग नेपाली सेनाले सम्झौता पनि गरिसकेको छ ।

तालिम लिएर कृषि कर्म गर्न चाहनेलाई तीन लाखदेखि १५ लाख रुपियाँसम्मको सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । तालिम प्राप्त गरी सहकारीमार्फत सामूहिक खेती गर्न इच्छुक भए अझै बढी ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

तालिम केन्द्रले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट मान्यता प्राप्त गरेको छ । तालिम लिनेलाई सीटीईभीटीले छनोट गरेपछि मात्र सो केन्द्रले तालिम दिने गरेको छ । तालिम दिने कृषिविज्ञ तथा वैज्ञानिकहरू कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाली सेनाले तयार पारेको मापदण्डको आधारमा छनोट गरिन्छ । तालिम लिनेलाई भारतको हरियाणा र इजरायलको भ्रमण गराएर पनि कृषिको तालिम दिने तयारी भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

कृषि मन्त्रालयले इजरायली प्रविधिमा दुईवटा सेन्टर अफ एक्सिलेन्सी (सिकाइको उत्कृष्ट थलो) स्थापना गर्ने भएको छ ।